हेटौँडा, मङ्सिर ९ गते । हेटौँडा औद्योगक क्षेत्रस्थित दुई उद्योगका मजदुर आन्दोलनमा उत्रिएका छन् । एभरेस्ट भिनायल र महाशक्ति शोपका कामदार कर्मचारी विभिन्न सुविधासहितको माग राख्दै लामो समयदेखि आन्दोलनमा उत्रिएका हुन् ।
जीवन बमिा, रात्रिकालीन भत्ता, शिक्षा भत्तालगायतका छ बुँदे माग राखेर आन्दोलनमा उत्रिएपछि मागका सम्बन्धमा उद्योग व्यवस्थापन र मजदुरबीच भएको वार्ता विफल हुँदै आएको छ ।
उद्योगमा दुर्घटनामा परेका मजदुरलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका मागलाई उद्योग व्यवस्थापनले सम्बोधन नगरेसम्म आन्दोलन यथावत् रहने एभरेस्ट भिनायलका मजदुर सरोज लामा बताउनुहुन्छ ।
मजदुरहरूले श्रम ऐनमा उल्लेख भएअनुसारको तलब भत्तालगायतका सुविधा उपलब्ध गराउन माग गर्दै आएका छन् ।
रेक्जिन र कार्पेट उत्पादन गरी नेपाली बजार र भारतमा निकासी गर्दै आएको उद्योग बन्द हुँदा दैनिक ३० लाख रुपियाँ नोक्सानी बेहोर्दै आएको छ । उद्योगमा नेपाली र भारतीय नागरिक गरी ३५० मजदुर कार्यरत रहेका छन् ।
यसैबीच महाशक्ति शोप एण्ड केमिकल उद्योगका मजदुर सङ्घर्षका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिएका छन् ।
उद्योगले हेटौँडाबाट उत्पादन बन्द गरेपछि पनि अवकाश नलिएका मजदुर गत आठ महिनादेखिको तलब सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
अखिल नेपाल औद्योगिक मजदुर सङ्घको नेतृत्वमा आफ्ना माग पूरा गराउन मजदुरले औद्योगिक क्षेत्रस्थित उद्योग सङ्घ हेटौँडाको कार्यालयमा दैनिक धर्ना दिँदै आएका छन् ।
उद्योगले यसअघि स्वच्छिक राजिनामा माग गरेकोमा पाँच महिनाको तलब सुविधासहित ८६ जनाले राजिनामा दिएका थिए ।
उद्योगमा रहेका २१ मजदुरले १३ गतेसम्ममा आफ्ना माग पूरा नभएमा मङ्सिर १३ गतेबाट दोस्रो चरणको आन्दोलनको घोषणा गरिने सङ्घर्ष समितिले जनाएको छ ।
उद्योग व्यवस्थापनले हेटौँडामा उत्पादन बन्द गरी बारा जिल्लाका अर्को उद्योग स्थापना गरी पूजा साबुन उत्पादन गर्दै आएको छ ।