नेपाल कम्युनिस्ट पार्टी(एमाले)भित्र चलेको एकताको लहरले न केवल पार्टीपङ्क्तिभित्र अपितु अन्य दलमा समेत उत्सुकता बढाएको छ । संविधानसभाको निर्वाचनपछि दुईपल्ट सरकारको नेतृत्व गर्ने अवसर पाए पनि एमाले आपसी फुटकै कारण विफल हुन पुगेको कटु यथार्थलाई एकातिर पन्छाउँदै सहमति, सहकार्य र एकताको बाटामा लाग्न चलेको पहललाई सकारात्मक मान्नैपर्छ । नेकपा-एमाले) एकचोटि फुटेर जुटेको पार्टी भए पनि फुटको तीतो घुट्को फेरि पनि गर्न नपरोस् भन्नेतर्फ नेतृत्व वर्ग गम्भीर नरहेकैले पार्टीभित्र माथिदेखि तलसम्म गुटगत चिरा पर्दै गएकामा विमति रहँदैन तर ढिलै भए पनि नेतृत्व वर्गमा एमालेलाई फेरि फुटको परिणतिमा नपुर्याउन चेतना जाग्नु सुखद सङ्केत बनेको छ ।
नेताहरूबीचको एकताको प्रयास 'चोचोमोचो' मिलाउन मात्र नभई एमालेको वैचारिक, राजनीतिक तथा भावनात्मक एकताका लागि इमानदार प्रयत्न भएको एमाले अध्यक्ष झलनाथ खनालको दृढोक्तिले समस्त नेता, कार्यकर्तालाई सुखद आभास गराएको छ । नेकपा(एमाले) केन्द्रीय कमिटीद्वारा पार्टी मुख्यालय मदननगर, बल्खुमा बुधबार आयोजित तीन महिने 'पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान' घोषणा कार्यक्रममा जनाइए अनुसार नेतृत्व वर्ग सहमत रहेको एकताको प्रस्तावलाई यथाशीघ्र स्थायी कमिटीमा पेस गरिने र पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीको निर्णयपश्चात् कार्यकर्ता तथा जनताबीच लगिने कार्यक्रम रहेको छ । यही पुस, माघ एवं फागुन महिनामा देशव्यापी रूपमा पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान सञ्चालन गर्न लागेको एमालेले मुलुकको परिवर्तित परिस्थिति मनन गर्दै समयानुरूप कदम चाल्न थालेको हो । संविधानसभामा पहिलो तथा दोस्रो स्थानमा रहेका क्रमशः एनेकपा -माओवादी) तथा नेपाली काङ्गे्रस पार्टीभित्र नेतृत्वबीच एकताको पाटो रूमल्लिरहेको बेला एमालेका नेता भने आपसमा रहे, भएका तमाम गुनासा, गथासा मेट्दै ऐक्यबद्ध हुनथालेका छन् । साँच्चिकै यसो हो भने यो राम्रो खबर हो ।
शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्नथालेको र संविधान निर्माणका काममा समेत अग्रसारिता रहेकाले शान्ति, संविधान प्राप्तिपछिको महानिर्वाचनमा सफलता हासिल गर्न एमाले अहिलेदेखि एक भई तयार हुन थालेको आभास हुन्छ । आठौँ राष्ट्रिय महाधिवेशनपछि विभिन्न विषयलाई लिएर पार्टीभित्र चर्किएको अन्तरसङ्घर्ष तत्काल नरोकिने हो भने एमालेको राजनीतिक अस्तित्व नै लोप हुँदै जाने भएकाले पनि नेतृत्व वर्ग बेलैमा सचेत भएको हुनुपर्छ । यसलाई एमाले नेता, कार्यकर्ताको मात्र होइन, देशकै लागि सुखद विषय मान्नुपर्छ तर यो प्रयास ठूला नेताहरूबीचको स्वार्थको अवसरवादी गठबन्धन नहोस् । एमाले पार्टीलाई यो आकार दिन एमालेका आम कार्यकर्ताको ठूलो त्यागको लगानी छ । यो देशका प्रखर बुद्धिजीवी, अग्रगामी चिन्तक, कलाकार, साङ्गीतिक, साहित्यक, स्रष्टाहरूको समर्पण र तपस्या खर्चिएको छ । अर्कोतिर जनताका मसीहाहरू सुविधाभोगी, सत्तामुखी भएको, क्रान्तिकारी धार भुत्ते भएको आमजनता र स्वयं सच्चा कार्यकर्ताहरूकै अनुभूति छ । अरू दलमा समेत कमोवेश यो रोग छ वा सर्न लागेको छ । लेनिन भन्थे, नेता भनेको रेलका इन्जिन हुन् । त्यसको दशा र दिशा ठीक भएन भने समाजलाई रूपान्तरण गर्ने, अग्रगामी बनाउने सारा सपना नै भताभुङ्ग हुन्छ । त्यसैले सबभन्दा मूल कुरा, त्यागबाट तृष्णासम्म आइपुग्दा सुधार्नु पर्ने पक्षबारे ठूला नेताहरू स्पष्ट हुनुपर्छ । यही समयको माग हो । यहीं सुधार गरे मात्र पार्टी र मुलुक दुवैलाई लाभ हुनेछ ।