बेरोजगारीको पिरलो खप्न नसकी हजारौँ युवा दिनहुँ विदेसिइरहेका छन् भने कतिपय युवामा मुलुकमै केही गर्न सकिने जोस, जाँगर र उत्साह पनि रहेकै छ । देशभित्र सम्भावना कम छैन, सामथ्र्य पनि उत्तिकै छ र मिहिनेत गरे प्रशस्त आर्जन गर्नसकिने अवस्थासमेत रहेको उदाहरण प्युठान, सराङकोट घर भई घोराही नगरपालिका वडा नं. ५ स्थित सालघारीमा क्रियाशील युवासमूहले दिएका छन् । वाषिर्क १६ हजार रुपियाँमा आठ कट्ठा जग्गा भाडामा लिई त्रिवेणी कृषि र्फम खोलेका युवाले उदाहरणीय काम गरेर देखाएका छन् । कुनै प्रकारको विषादी तथा रासायनिक मल प्रयोग नगरी स्वच्छ तरकारी उत्पादन गरेका युवालाई व्यापारका निम्ति भ्याई नभ्याई हुनु नै सफलताको कथा बनेको छ । तरकारी खेतीसँगै माहुरीपालन, माछापालन, प्याजको नर्सरी र च्याउखेती गरेर मनग्गे आर्जन गरिरहेको युवासमूहले एकीकृत खेती वरदान साबित हुने यथार्थ छर्लङ्ग्याएको छ । मुलुकमा तरकारीको बजार ठूलो छ, स्तरयुक्त उत्पादन फलाउनसके विदेश निर्यात गर्नसकिने सम्भावना पनि प्रचुर छ तर दुःखदायी वास्तविकता के छ भने तरकारीको कुल मागमा ६० प्रतिशत जति तरकारी भारतबाट आइरहेका छन् । आलुसमेत विदेशबाट ल्याउनुपर्ने अवस्थालाई उदेककै कुरो मान्नुपर्छ । भुटानबाट आलु र तिब्बत-चीन)बाट लसुन झिकाएर खानुपर्ने वस्तुस्थिति रहँदा पनि सम्बद्ध निकाय नब्युँझनुलाई अनौठै कुरो मान्नुपर्छ ।
मौसमी, बेमौसमी तरकारीको खेतीले किसानको जीवनस्तर कहाँको कहाँ पुर्याउनसक्ने भए पनि अपेक्षित दिशातर्फ चाहिँदो प्रोत्साहन र उत्प्रेरणाको अभाव छ । मुलुकमै केही काम गर्न चाहने युवा यहाँ कम छैनन् तर तिनलाई यथोचित मार्ग निर्देशन गर्ने परिपाटीको भने नितान्त अभाव छ । तरकारी, फलफूल एवं पशुपालनबाट मात्रै पनि मुलुकले आर्थिक जगत्मा फड्को मार्नसक्नेमा दुईमत रहँदैन । कृषिक्रान्तिको कुरो कागजी पानामा मात्र सीमित रहनुले पछौटेपनबाट मुक्ति प्राप्त नभएको हो । मौसमी अनुकूलता तथा सम्भाव्यता हेरी हरेक जिल्ला, क्षेत्रमा अलग-अलग तरकारी, पशुपालन तथा फलफूल खेतीमा जोड दिनसकिएमा पक्कै ठूलो क्रान्ति हुनेछ । कृषि क्षेत्रको उत्थानका निम्ति अल्पकालीन, दीर्घकालीन योजनाको कुरो गरिन्छ तर त्यस अनुरूप पाइला बढेको उदाहरण छैन । किसानलाई उन्नत बीउबिजन, मल, प्राविधिक परामर्श आदि उपलब्ध गराउने काममा पनि चिप्लेकीराको गति रहेको छ । मुलुकभित्रै तरकारी प्रशस्त उत्पादन गरी विदेशी तरकारीलाई बिदाबारी गर्ने सोचाइ नै नरहेको दृष्टान्त मुलुकमा उत्पादन कम हुने र आयात बढी रहने स्थितिले औँल्याएको छ । एक गाउँ एक उत्पादनको नारा पनि नारामै सीमित रहेकाले काहीँ कतै त्यसको शुभलक्षण देखिएको छैन । समयको माग मनन गरी सम्बन्धित निकाय जाग्ने हो भने तरकारी, फलफूल तथा पशुपछी एवं माछापालनमा निकै उन्नति हुनसक्छ । यसका निम्ति युवावर्गलाई प्रोत्साहित गरिनु जरुरी छ । स्वदेशमै केही गर्ने वातावरण बन्नसके युवा वर्ग त लाभान्वित हुने नै छन्, आम किसानको मुहार पनि उज्यालिनेछ र समग्रमा मुलुककै अर्थतन्त्र बलियो बन्नेछ ।