मुलुकभित्र आपराधिक क्रियाकलाप बढिरहेका छन् । हत्या, अपहरण, लुटपाट, चोरी, डकैतीजस्ता अपराध बढ्दै जानुले सुरक्षाको बन्दोबस्त बलियो नरहेको प्रस्ट हुन्छ । काठमाडौँ उपत्यकाभित्र केही महिनायता बारम्बार हत्या, अपहरणका घटना भइरहेका छन् । आपराधिक क्रियाकलापको शृङ्खलामा कपन, मिलनचोकस्थित माता मनकामना सुनचाँदी पसलमा भएको गोलीकाण्ड पनि थपिएको छ । शुक्रबार समसाँझै भएको गोलीकाण्डमा सुन व्यवसायी हर्कबहादुर दियालीको मृत्यु भएको छ भने उनकै भतिजा रोशन गम्भीर घाइते भएका छन् । यस अघि हालै सुन व्यवसायी गुण ज्यास पसःका कामदार जुजुकाजी वज्राचार्यको हत्या भएको स्मरणीय छ । सुन व्यवसायका क्षेत्रमा लगातार भएको हत्या सिलसिलाले निश्चय पनि गम्भीरतापूर्ण स्थितिको सङ्केत नगरेको होइन तर काठमाडौँ उपत्यकाभित्र आपराधिक क्रियाकलापबाट सुन व्यवसायी मात्र प्रभावित छैनन् । नेपाल मुस्लिम सङ्घका महासचिव फैजान अहमदको हत्या, ललितपुर, धापाखेलमा भएको ठमेलका व्यापारी श्रवण खड्काको हत्यालगायतका विविध घटनाले अन्य क्षेत्र पनि संवेदनशील रहेको प्रस्ट हुन्छ । धनुषा घर भई काठमाडौँ बसी अध्ययन गरिरहेका बालक शुभम साहको हत्या प्रकरणकै उदाहरण लिँदा पनि हत्या, अपहरण जस्ता घटना नपत्याउँदो ढङ्गमा विकराल हुँदै गएको देखिन्छ । दुई, तीन महिनायता मात्रै १२ जनाजतिको हत्या हुनुलाई निश्चय पनि सामान्य कुरो मान्नसकिँदैन । अपहरणको सिलसिला तराई, मधेसमा मात्र होइन, काठमाडौँभित्रै पनि अझ बढी नै चर्कनथालेको छ । गएको बिहीबार प्रातःभ्रमणमा निस्किएका न्युरोड, काठमाडौँका व्यापारी पवन सङ्घाई जसरी कमलादी, गणेशस्थान नजिकैबाट अपहरणमा परे, त्यसले काठमाडौँको सुरक्षा प्रबन्ध अत्यन्तै कमजोर रहेको छर्लङ्ग पारेको छ ।
काठमाडौँ उपत्यकाभित्र नै सुरक्षा व्यवस्थाको खिल्ली उडिरहेको परिप्रेक्ष्यमा अन्यत्रको कल्पनामात्रले पनि जीउ सिरिङ्ग बनाउनु अनौठो होइन । मधेस-तराई यतिखेर चिसोले मात्र प्रताडित छैन, हत्या, अपहरण, लुटपाट र जबर्जस्ती चन्दा प्रकरणले आक्रान्त बनेको छ । डाँकाको आक्रमणमा परी सर्वसाधारणले ज्यान गुमाउनुपरिरहेको छ । सिरहाको बेल्हामा भएको डाँकाकाण्डले बनाएको घाउ सहजै पुरिने देखिँदैन । सङ्क्रमणकालको टुङ्गइिर् नसकेको पीडाले रन्थनाइरहेका आम नेपालीलाई यतिखेर आपराधिक गतिविधिले दारुण अवस्थामा पुर्याएको छ । शान्ति, सुरक्षाको जिम्मा लिएर बसेका निकायले आˆनो सक्रियता बढाउन जोड गर्नैपर्छ । हाल कायम प्रबन्धबाट अपेक्षित परिणाम हासिल नभएको निर्विवाद यथार्थ भएकाले स्थितिको गाम्भीर्य मनन गरी अविलम्ब सक्रियता बढाउनु जरुरी छ । बढ्दो आपराधिक क्रियाकलापबारे गम्भीर अध्ययन, अनुसन्धान गरी के कस्ता प्रक्रिया अँगाल्दा शान्ति, सुव्यवस्था स्थापना गर्नसकिन्छ, यतातिर समन्वयात्मक प्रयास अपेक्षित छ । मुलुकमा शान्ति प्रक्रिया टुङ्गनि लागेको र संविधान निर्माण कार्यसमेत पूर्ण हुने तर्खरमा रहेकाले परिवर्तन मन नपराउने प्रतिगमनकारी शक्तिबाट भाँडभैलो मच्चाउने उद्देश्यले पनि आपराधिक क्रियाकलाप बढाइएका हुनसक्छन् । सुरक्षा संयन्त्र उच्च मनोबलका साथ लागिपरेमा शान्ति, सुरक्षाको अवस्था अवश्य सुधि्रनेछ । सरकारी प्रयासबाट मात्र शतप्रतिशत सफलता हासिल नहुनसक्छ, यसका लागि सर्वसाधारणसमेत सचेत, सतर्क एवंं सक्रिय हुनुपर्छ । सुरक्षा निकायले स्थानीय बासिन्दाको सहयोग लिई जन, धनको बचावट गर्नसक्छन् । गुप्तचर निकायलाई जगाउनसकिएमा आपराधिक कृत्य कम गराउन पक्कै मद्दत पुग्नेछ । मूलकुरो, गृहमन्त्रीले जनसाधारणलाई आश्वस्त पार्नेगरी सुरक्षा संयन्त्र नै सक्रिय र सशक्त पार्न जरुरी छ । गृह मन्त्रालय अब बोलीमा होइन व्यवहारमा खरो सावित हुन ढिलो भइसकेको छ ।