धनकुटाको डाँडाबजार एक र दुई नं. वडाका बासिन्दा पानीको हाहाकार बेहोर्न फेरि बाध्य भएका छन् । स्थानीय क्षेत्रमा पानीको राम्रो स्रोत नभए पनि कुहिरोबाट खानेपानी निकाल्ने प्रविधिबाट लाभान्वित हुँदै आएकाहरू यतिखेर समस्यामा पर्नुको कारण कुहिरोबाट पानी बन्न छाडेर होइन, ध्वजेडाँडामुनि राखिएको पर्दा च्यातिनाले हो । पर्दा पुरानो भएकाले च्यातिएका कारण अहिले निकै कम पानी आपूर्ति भइरहेको छ । कुहिरोबाट २० हजार लिटरको ट्याङ्की भर्न पहिले तीनघन्टा नलाग्नेमा हाल आएर त्यतिबेलासम्म एक गाग्री पानी पनि नभरिने अवस्था छ । पानीको अभावले सर्वसाधारणको दैनिकीमै असर परेको छ भने गएको वर्षदेखि थालिएको 'होमस्टे'समेत कुप्रभावित हुने लक्षण छ । कुहिरोबाट पानी निकाल्ने प्रविधि भित्र्याएर गुन लगाएको नेवा संस्था सम्पर्कविहीन रहेका कारण सर्वसाधारण झनै पिरोलिएका छन् । पानीको स्रोत नभएको अवस्थामा कुहिरोबाट पानी निकालिने प्रविधि न केवल डाँडाबजारका लागि अपितु अन्य क्षेत्रका लागि समेत अनुकरणीय रहेकामा विमति रहँदैन तर यसबारे सोधखोज गर्ने निकायकै कमी रहेकाले स्थिति विडम्बनापूर्ण बनेको छ । ध्वजेडाँडामा निकै हावा लाग्नेभएकाले चाँडै पर्दा च्यातिएको हुनसक्ने अनुमान स्थानीय बासिन्दाको छ । डाँडाबजार होस् वा अन्यत्र कुहिरोबाट पानी निकाल्ने प्रविधि विस्तार गरिँदा यतातिर ध्यानाकर्षण जरुरी छ । पानीको स्रोत नभएका तर कुहिरो लाग्ने ठाउँमा यो प्रविधि वरदान साबित हुने भए पनि सम्बद्ध निकाय कुम्भकर्णे निद्रामा मस्त रहेकाले 'हृलासामा सुन छ, कान बुच्चै'को अवस्था छ । खानेपानीको समस्याबाट मुलुकका अधिकांश क्षेत्र ग्रस्त छन् । मुलुककै मुटु मानिने राजधानीसमेत काकाकुलको बस्तीसरह रहेको अविदित यथार्थ होइन । मेलम्चीको अमृतमय पानीको सपनामा रमाउने काठमाडौँ बिपनामा तिर्खाइरहेको छ ।
स्थानीय स्रोतको यथासम्भव उपयोग हुनसके प्याकप्याक्तीकै अवस्था नरहनसक्छ तर यस दिशामा सरोकारी निकायले खासै चासो लिएको छैन । धेरैजसो ढुङ्गेधारा, खोला, खोल्सा सुके पनि अझै केही अविरल बगिरहेका छन् । त्यसै खेर गइरहेका पानी सञ्चय गर्ने र प्रशोधन गरी वितरण गर्नेतर्फ प्रगति देखिँदैन । बर्खामा परेको पानी भण्डारण गरे पनि पानीको समस्या मत्थर पार्नसकिन्छ । यो प्रविधि काठमाडौँ उपत्यकाका लागि मात्र होइन, अन्य सहर एवं सहरोन्मुख गाउँका लागि समेत गुणकारी छ । बढ्दो सहरीकरण र जनघनìवले स्थिति जहाँसुकै बिगार्दै लगेको भए पनि जनसङ्ख्या बृद्धिका तुलनामा खानेपानीको व्यवस्थापन नरहेसरि छ । खानेपानीको अल्पकालीन समस्या नै चर्को रहेकाले हुनसक्छ, दूरदर्शी काम कतै भएको आभाससमेत पाइँदैन । घर बनाउँदा थोरै जग्गा पनि खाली नराखी पूर्णरूपेण कंक्रिटमय तुल्याइँदा बलेँसीको पानी जमिनमा नपर्ने स्थिति छ । यसले गर्दा भूमिगत पानीको स्रोतलाई नकारात्मक असर परिरहेको छ । बर्खे पानीको सङ्कलन घर, घरमै हुने व्यवस्था गर्नेतर्फ पाइला चाल्न नसकिने होइन, यसबारे प्रचार-प्रसार र चेतनाकै अभाव छ । खानेपानी र अन्य प्रयोजनका लागि वितरण गरिने पानी दुईथरी पाइपबाट वितरण गर्ने परिपाटी धेरैजसो मुलुकमा अर्थपूर्ण ठहरिएको पाठ हामीले पढ्न बाँकी नै छ । पानीको समस्या तेस्र्याउने, ठूला-ठूला आयोजनाका भाषण उर्लाउने तर व्यवहारिक धरातलमा चाहिँ पानी जोगाउन ठ्याम्मै प्रयास नगर्ने बानीले समाजलाई रूग्ण बनाउँदै लगेको छ । घरैपिच्छे एक बाल्टिन पानीमात्र जोगाउन सकिए पनि त्यसबाट कैयन् घरको आवश्यकता पूर्ति हुने कुरो बुझ्नु, बुझाउनु जरुरी छ । मागका तुलनामा आपूर्ति कम भएकाले पानी पुर्याउन नसकिएको सधैँको उही 'लोरी' गाउनुसट्टा चुहावट रोक्न र स्थानीय स्रोत उपयोग गर्न लागिपर्ने हो भने उल्लेख्य उपलब्धि हासिल हुनेमा विमति रहँदैन ।