नेपालगन्ज, पुस ३० गते । बाँकेका थारु बस्तीमा माघीको तयारी पूरा भएको छ । गरिब, मध्यम, धनी जस्तोसुकै भए पनि तराईका थारुहरू माघी पर्वलाई स्वागत गरिरहेका छन् । माघ १ गते थारु जातिको स्वतन्त्रताको दिन हो । त्यति मात्र होइन, यस दिनलाई उनीहरूले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । सधैँ खेतिपातीमा व्यस्त रहने हुनाले उनीहरूले वर्षमा एक दिन माघीलाई मुक्तिको दिनका रूपमा समेत लिने गरेका छन् । उनीहरू यो पर्व हप्ता दिनसम्म मनाउने गर्छन् ।
थारुहरूले सामाजिक, आर्थिक र पारिवारिकलगायत धेरै किसिमका कामको बाँडफाँड, योजना र नीति तय यसै दिन गर्दछन् । घरमूलीको चयन, बसाइँसराइको तय, आर्थिक पारदर्शिता, असमान व्यवहारको मूल्याङ्कन गरी घरमा कसको विवाह गर्ने, कसको नगर्ने, छोराछोरीलाई पढाउने, नपढाउने, छुट्टनिे, जग्गा किनबेच गर्ने कि नगर्ने, कमैया, कमलरी बस्ने नबस्ने, जमिन्दारको जग्गा लगाउने छोड्ने जस्ता वर्षभरिको सबै निर्णय गर्ने दिन नै माघ १ गते भएको थारु अगुवाहरू बताउँछन् ।
यस दिन घरका सबै जना एकै ठाउँमा जम्मा हुन्छन् र परिवारका सदस्यले घरमूलीसमक्ष आ-आफ्नो प्रस्ताव राखिसकेपछि वर्षभरिको कामको निर्णय गरिन्छ र सबै त्यसै अनुरूप चल्नुपर्दछ ।
बाँके नौबस्ताका ६८ वषर्ीय वसन्त थारुका अनुसार, यस दिन सट्टापट्टा विवाह गर्ने चलन छ । आफ्ना छोरी बुहारीको सट्टापट्टा विवाह गराई अनुभवी बटुलीसकेका कुमार भन्नुहुन्छ- जुन घरमा छोरी दिन्छौँ, त्यहि घरबाट बुहारी ल्याउँछौँ, त्यति मात्र होइन, माघीका दिन पेटभित्रको भ्रुणको पनि विवाहको छिनोफानो गर्ने चलन छ ।
मिठोमिठो खाएर, मघौटा नाच नाचेर, रमाएर थारुहरूले माघी मनाउँछन् । यस दिन थारु समुदायका महिला, पुरुष आफ्नै संस्कृति झल्किने भेषभूषामा सजिएका हुन्छन् भने मौलिक भाषा, गीत, सङ्गीत, लवाइ ख्वाइ आफ्नै प्रकारको हुन्छ ।
माघ १ गते उज्यालो नहुँदै कसैसँग नबोलेर बालकदेखि वृद्धसम्मका सबै नदी, खोलामा नुहाउन जान्छन् र पैसा पनि गङ्गामा चढाउङ्छन् । त्यसपछि सुरु हुन्छ उनीहरूको माघी पर्व । घरमा आएपछि तीलको डाढ बाली आगो तापेर मान्यजनकहाँ गएर ढोकभेट गरी आशीर्वाद लिने चलन हुन्छ ।
थारु समुदायका हरेकको घरमा माघीका लागि बनाउने परिकार तयार हुन्छन् । माघीको दिन झण्डै डेढ दर्जन परिकार बन्छन् । विभिन्न परिकारमध्ये अनदीको चामलको जाँड विशेष मानिन्छ यस पर्वको दिन थारु समुदायमा । उनीहरूले माघीका लागि भनेर खेतमा अलग्गै अनदीको धान लगाएका हुन्छन् । यसलाई माघीका दिन प्रयोमा ल्याइन्छ । थारु संस्कार अनुसार, चामलको ढिक्री, घोंगी -शङ्खेकीरा), सुँगुरको मासु, अनदीको जाँड र रोटी, तरुल, गन्जी, माछा माघीको दिनमा खाइने महìवपूर्ण परिकार मानिन्छन् । सबै परिकार मालुको पातको दुना टपरीमा खाइन्छ । किनभने यो थारु जातिको परम्परागत भाँडो हो ।
यस दिन महिलाहरूले आफ्नो संस्कृति झल्काउने गोन्या, चोल्या, लेहङ्गा, गट्या, अघरनालगायका हुन्छन् भने गहनाहरूमा चाँदी र प्राचीन मोरु पैसाबाट बनाइएका भिछ्या, पैरी, चुरिया, टरिया, मुन्द्री आदि लगाएका हुन्छन् ।
यसैगरी पुरुषहरू पनि झुल्वा, भेग्वा, धोती आदि लगाएर दुनामा जाँड खाँदै महिलापुरुष आपसमा रमाइलो गरेर नाच्छन् ।