नेपाल सद्भावना पार्टी -आनन्दीदेवी का अध्यक्ष तथा पूर्व आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ता अन्ततः गत सोमबार प्रहरीको पक्राउमा परेका छन् । काठमाडौंका उद्योग व्यवसायी पवन सङ्घाईको अपहरण गरी फिरौती रकमबापत ८५ लाख रुपियाँ असुलेको आरोप गुप्तामाथि छ । उद्यमी, व्यापारी सङ्घाईलाई गको पुस सात गते बिहान कमलादी, काठमाडौंबाट अपहरण गरी काभ्रेपलाञ्चोक जिल्लाको सस्र्युंखर्क गाविसस्थित एक घरमा बन्धक बनाई २१ औं दिनमा फिरौती रकम लिई मुक्त गरिएको हो । प्रहरी अपराध महाशाखाले व्यापारी सङ्घाईको मुक्तिपछि पनि अनुसन्धान जारी राखेका कारण अपहरण काण्डमा 'गुप्ता' प्रमुख योजनाकार भएको रहस्य खुलेको हो । फिरौती रकम लिएर छोराको विवाह गराउन राजधानीबाट भैरहवा पुगेका गुप्तालाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई जानकारी गराएर प्रहरीले सभासद् गुप्तालाई पक्राउ गरेको खबर सार्वजनिक भएको छ । अत्यन्तै घृणित आपराधिक कृत्यको अभियोगमा पक्राउ परेका गुप्ताको सन्दर्भले राजनीतिक वृत्तलाई नै धुमिल बनाएको छ । शान्ति स्थापना र संविधान निर्माणको ऐतिहासिक, युगान्तकारी कार्य सम्पादन गर्नुपर्ने सभासदजस्तो व्यक्तित्व अपहरणकाण्डमा नाइके देखिनु आम नेपालीका निम्ति खेदकै पक्ष हो । राजनीतिक व्यक्तित्व आपराधिक क्रियाकलापमा पक्राउ परेको उदाहरण यो मात्रै होइन, हत्या, अपहरण, लुटपाट, जबर्जस्ती चन्दा जस्ता कुकृत्यका पछाडि रहेका राजनीतिकर्मीले आˆना नाम मात्र बदनाम गरेका छैनन्, पार्टीपङ्क्तिलाई नै प्रश्ननिन्हभित्र पारेका छन् । रातो पासपोर्ट प्रकरण तथा विभिन्न खाले भ्रष्टाचारबाट कतिपय राजनीतिकर्मी गनाइरहेका छन् । राजनीतिकर्मीमा आपराधिक प्रवृत्ति किन बढिरहेको छ ? खोतल्नैपर्ने जल्दोबल्दो पक्ष बनेको छ । जस्तासुकै अपराध गरे पनि राजनीतिक आवरणमा लुक्ने, लुकाउने परिपाटी रहेकाले समाजमा विकृति बढ्दै आएको प्रष्ट छ । दण्डहीनताको अन्त्य नहुनुले स्थिति बिगारेकामा विमति रहँदैन ।
महानगरीय प्रहरी अपराध महाशाखालाई धन्यवाद दिनैपर्छ । सभासद्, पूर्वमन्त्री, पार्टीका अध्यक्ष भए पनि अपराधमा संलग्न रहेको पुष्टि हुनासाथ गुप्तालाई पक्राउ गरिएको छ । अपराध नियन्त्रणको चर्चा चल्दा प्रहरी प्रशासनमाथि सत्तोसराप हुनेगरेको विदितै छ । प्रहरी प्रशासन कडा भएमा अपराध रोकथाम हुनेमा शङ्का रहँदैन । काम भएको नदेखिँदा सर्वसाधारणले प्रहरीलाई औंला उठाउनु स्वाभाविक भएझैँ आँटिलो काम गर्दा प्रशंसा गर्न तथा प्रोत्साहन दिन पनि चुक्नु हुँदैन । आपराधिक गतिविधिमा संलग्न जो कोही भए पनि तिनले कडा कारबाहीको पात्र हुनुपर्ने सन्देश फिँँजाउन अझै धेरै काम गर्न बाँकी छ । प्राय ः सबैजसो अपराधका पछाडि राजनीतिक धाप रहेको वर्तमान विडम्बनाको अन्त्य निम्ति प्रहरी-प्रशासन मात्र तातेर पुग्दैन, राजनीतिक दल पनि उत्तिकै गम्भीर एवं इमान्दार हुनुपर्छ । अहिलेको राजनीतिक परिवेशमा अपराधी नसमेटी के अघि बढ्न सकिँदैन ? प्रत्येक दलभित्र व्यापक बहस अत्यावश्यक छ । राजनीतिक शक्तिका आडमा बढ्दो आपराधिक सिलसिला रोक्न अहिल्यै सोच र सक्रियता नबढे पछुतो मात्र हात लाग्ने सम्भावना छ । विराटनगरको अदालत परिसरभित्र भएको हातपातको घटना तथा चितवन कारागारभित्र भएको भिडन्त, यस्ता अनेक हिंसात्मक कृत्य हुन्, जसले मुलुकको लोकतान्त्रिक परिपाटीलाई चुनौती मात्र दिएको छैन, सुशासनको खिल्ली पनि उडाएको छ । गुप्ताको अपहरणकाण्डलाई व्यक्ति विशेषको घटना मात्रै ठान्ने भूल गरिनु हुँदैन ।
राजनीतिक सम्बद्ध व्यक्तिको कर्तुतले राजनीतिक जगत्लाई नै खोट लगाउने हुँदा हरेक दलमा शुद्धीकरण अभियान जरुरी छ । दाग लागेका तथा आपराधिक मनोवृत्ति भएको व्यक्तिलाई प्रत्येक दलले पन्छाउनैपर्छ, अन्यथा त्यसको प्रत्यक्ष, परोक्ष असर सम्बन्धित दलमाथि मात्रै होइन, राष्ट्रलाई नै परिरहने छ ।