वुटवल, माघ ८ गते । बढ्दो लोडसेडिङको समस्या र इन्धन खपत कम गर्ने उद्देश्यले बुटवल नगरपालिकाले सौर्य ऊर्जामार्फत बुटवलका सडकमा बत्ती बालेको छ ।
नगरपालिकाले सहरी वातावरण सुधार परियोजनाअन्तर्गत सहरको सौन्दर्यतालाई बढाउँदै यहाँको व्यापारिक कारोबारको अवधिलाई समेत बढाउने उद्देश्यले सौर्य ऊर्जामार्फत सडक बत्ती बाल्ने योजना अघि बढाइएको थियो ।
नगरपालिकाले पहिलो चरणमा बुटवलको मुख्य बजार क्षेत्र अमरपथ, बीपी चोक, राममन्दिर लाइन, ट्राफिक चोकलगायतको क्षेत्रमा सौर्य ऊर्जामार्फत रातको समयमा सडक बत्तीको व्यवस्था गरेको छ ।
सौर्य ऊर्जामार्फत सडक बत्ती बाल्दा लोडसेडिङको समस्या नहुने, रातको समयमा पनि व्यापारको समय बढ्ने तथा सुरक्षासमेत हुने नगरपालिकाले जनाएको छ । परियोजना सञ्चालनका लागि सूर्योदय ऊर्जा प्रा.लि.सँंग सम्झौता गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बताउनुभयो । नगरपालिकाको सार्वजनिक नीजि साझेदारी कार्यक्रममार्फत सञ्चालन हुने परियोजनाका लागि बुटवल नगरपालिका, स्थानीय उपभोक्ता तथा सूर्योदय ऊर्जा प्रालिबीच सम्झौता भएको उहाँले जानकारी गराउनुभयो । यो परियोजना नेपालकै नमुनाका रूपमा स्थापना भएको सूर्योदय ऊर्जा प्रालिका इन्जिनियर सन्तोष श्रेष्ठको दावी छ ।
बुटवल नगरपालिकाको ६५ प्रतिशत, स्थानीय उपभोक्ताको २० प्रतिशत र बाँकी १५ प्रतिशत सूर्योदय ऊर्जा प्रालिको गरी कुल ३५ लाख २३ हजार दुई सयको लगानीमा सो परियोजना सुरु भएको हो ।
सार्वजनिक निजी साझेदारी कार्यक्रम परियोजना समन्वय अधिकृत विमल पोखरेेलले बुटवलमा बढ्दै गरेको सहरीकरण र यस आसपासका गाविसहरू पनि सहरोन्मुख बन्दै गरेको अवस्थामा यो परियोजना सुरु गरिएको धारणा व्यक्त गर्नुभयो ।
सौर्य ऊर्जाप्रति निजी क्षेत्रले देखाएको उत्साह र लगानीका कारण नेपाल सरकारले पनि यस क्षेत्रमा लगानी गर्ने सम्भावना बढेको नेपाल सरकार वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिरियर प्रेम पोखरेलको भनाइ छ ।
परियोजनाका लागि वातावरण मन्त्रालयमार्फत प्राविधिक सहयोग उपलब्ध भएको छ भने बुटवलको अमरपथ, बीपी चोक, राममन्दिर लाइन, नेपालगञ्ज रोड तथा ट्राफिक चोकका तीन सय ६२ घर, सो क्षेत्रमा सञ्चालन गरिएका झन्डै १६ सय व्यापारिक प्रतिष्ठानहरू प्रत्यक्ष लाभान्वित भएका छन् । प्रतिदिन बढ्दै गएको लोडसेडिङका कारण समस्या भोग्दै आएका स्थानीय सर्वसाधारणले सौर्य ऊर्जा परियोजना प्रभावकारी भएको बताएका छन् ।