दाङ देउखुरीस्थित गङ्गापरस्पुर गाविसको सालझन्डी सामुदायिक वन सखाप हुन थालेको छ । काठ तस्करको बिगबिगी बढेका कारण वन सङ्कटग्रस्त बन्नपुगेको हो । सालका ठूल्ठूला रूख कटानी र चोरी निकासी कार्यमा वन उपभोक्ता समूहका पदाधिकारी तथा वनका कर्मचारीको मिलोमतो रहनु उदेकको विषय बनेको छ । वन, जङ्गलको संरक्षण, सम्बर्द्धन गर्ने कार्यमा अहोरात्र खट्नुपर्ने स्थानीय उपभोक्ता तथा वनकर्मी नै तस्करका सहयोगी बनेपछि सामुदायिक तथा राष्ट्रिय वनका रूख मासिँदै जानु अनौठो होइन । वन फँडानी व्यापक रूपमा मच्चिए पनि जनसाधारण लिखित उजुरी दिन डराएको खबर सार्वजनिक भएको छ । काठ तस्करीविरूद्ध लागिपर्नेलाई ज्यान मार्ने धम्की दिइएकाले सर्वसाधारण निरीह बनेका हुन् । सम्बद्ध कार्यालय कुम्भकर्णे निद्राको स्वाङमा रहेकाले पनि तस्करविरूद्ध क्रियाशील हुन आँट नबढेको जनधारणा छ । यदाकदा थोरै मात्रामा अवैध काठ बरामद गरिएका उदाहरण देखाउने नगरिएको होइन तर यथार्थ बेग्लै र विकराल रहेको जनगुनासो स्मरणीय छ । राजनीतिक दलका नेता, कार्यकर्ताको छत्रछाया पाएकाले पनि तस्करको मनोबल बढ्दो छ । सालझन्डी सामुदायिक वनमा मच्चिएको काठ तस्करी केवल प्रतिनिधि उदाहरण मात्र हो, अन्यथा मुलुकका अधिकांश वन यही समस्या झेलिरहेका छन् । चुरे, महाभारत क्षेत्रका वन, जङ्गल जुन हिसाबमा मासिँदै गएका छन्, त्यसले सुखद भविष्यको परिचय गराउँदैन ।
व्यापक वनफँडानीले सिर्जना गर्ने दारूण परिस्थिति सबैले भोग्नैपर्ने हुन्छ । वन, जङ्गलको अभावमा पर्यावरणीय सन्तुलनमै असर पर्नेछ भने यसले जैविक विविधताको सम्पदालाई पनि नष्ट पार्नेछ । कुनै बेलाको 'हरियो वन, नेपालको धन' लोकपि्रय नारा अहिले आएर 'उजाड वन, नेपालको मन ?' सरह बनेको छ । यतिखेर वन फँडानी जुन अनुपातमा भइरहेको छ, गति, मति नफेरिएका खण्डमा नेपालको वन, जङ्गल इतिहासको पानामा सीमित हुनेछ । वन, जङ्गल संरक्षणका नारा, भाषण, नीति र कार्यक्रम जे जस्ता बनाइए पनि व्यवहारिक धरातलले ती सबैलाई झापड कस्दै आएको छ । खासगरी राजनीतिक तरलता अधिक रहेको अवस्थामा यहाँका वन, जङ्गल बढी मासिने गरेको इतिहासमात्र होइन, वर्तमानसमेत साक्षी छ । वन, जङ्गल मासिँदा राष्ट्रको सम्पत्तिमात्रै लुटिने होइन, स्थानीय जनताको जीवनयापनमाथि पनि कडा प्रहार हुने भएकाले वन जगेर्नाका निम्ति व्यापक अभियान जरुरी छ । वन संरक्षणका लागि जनसहभागितामूलक अभियान अपरिहार्य रहेको छ भने गलत क्रियाकलापमा संलग्न जो कोही भए पनि पक्राउ गरी तत्कालै कारबाही हुने परिपाटी अँगाल्न ढिलो गरिनु हुँदैन । वन, जङ्गल जोगाउनेतर्फ तत्कालै विशेष संयन्त्र खडा गर्नु जरुरी छ भने वृक्षरोपणतर्फ पनि सक्रियता आवश्यक छ । वृक्षरोपण कार्य केवल प्रचारात्मक हुनुहुँदैन । वृक्षरोपणको संरक्षणका लागि समुचित बन्दोबस्त आवश्यक छ । अवैध रूपमा वन, जङ्गल फाँड्ने, काठ तस्करी गर्ने वा त्यस्ता अवाञ्छनीय तìवलाई प्रत्यक्ष, परोक्ष सघाउने प्रत्येक व्यक्तिमाथि दण्डसजाय हुनैपर्छ । यस्ता आपराधिक कृत्यमा लागेका व्यक्तिलाई कुनै पनि दल वा नेताले प्रश्रय दिनु ठीक होइन । बरू त्यस्तालाई सजायको भागिदार बनाएर राष्ट्रिय दायिìव निर्वाह गरिएमा दल वा नेताको साख स्वतः बढ्नेछ ।