बेसीसहर, माघ ११ गते । नेपालमै सबैभन्दा बढी जलवायु परिवर्तनको असर पर्ने जिल्लामा लमजुङ परेको छ । जलवायु परिवर्तनसम्बन्धी प्रस्तुत गरिएको एक कार्यपत्रमा सबैभन्दा बढी जोखिम रहेको जिल्लामा लमजुङलाई पनि राखिएको छ । त्यसपछि धनकुटा र मुगु रहेका छन् ।
युरोपियन युनियनको आर्थिक सहयोगमा क्लाइमेन्ट चेन्ज नेटवर्क नेपाल, क्लिन इनर्जी नेपाल र चेस नेपाल लमजुङको संयुक्त आयोजनामा लमजुङको सदरमुकाम बेसीसहरमा भएको एक अन्तक्रिर्या कार्यक्रममा जलवायु परिवर्तनको उच्च जोखिममा लमजुङ रहेको जानकारी गराइएको हो । जलवायु परिवर्तनको सञ्जालमा रहेर काम गरिरहेको स्वच्छ ऊर्जा नेपालका निर्देशक मञ्जित ढकालले लमजुङ जिल्ला नेपालमै सबैभन्दा उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले यहाँको भौगोलिक बनावट, हिमनदी प्रभावित र धेरै पानी भएकाले पनि यो जिल्ला उच्च जोखिममा परेको बताउनुभयो ।
जलवायु परिवर्तनका विषयमा राष्ट्रिय रूपमा नीति नै बनाएर काम सुरु गरिएको भए पनि निर्देशक ढकाल सरकारले नीति बनाए पनि कार्यान्वयन हुन नसकेकाले सबै क्षेत्रको सहयोगमा नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनमा लमजुङ जिल्ला किन जोखिममा परेको हो र यसको न्यूनीकरणका लागि स्थानीयस्तरबाटै आवाज उठेमा कार्यान्वयनमा जोड दिन सकिने उहाँको भनाइ छ ।
जलवायु परिवर्तनले नेपाललगायत अन्य गरिब तथा विकासोन्मुख देशहरूमा तुलनात्मक रूपमा बढी असर गरिरहेको एक अध्ययनले देखाएको छ । नेपालको हरितगृह ग्यास उत्सर्जन दर अन्य देशहरूको तुलनामा नगन्य भए पनि जलवायु परिवर्तनका नकारात्मक असरहरूबाट अत्यन्त संवेदनशील रूपले प्रभावित हुने लक्षणहरू देखा परेका छन् ।
जलवायु परिवर्तनका कारण पानीको मूल सुक्ने, उच्च पहाडमा रहेका खर्कहरूमा घाँस मासिँदै जाने, मौसममा फेरबदल आउने, बेसिजनमा फूल फुल्ने, फलफूल पाक्ने, फागुन चैतमा फूल्ने लिची आँप जस्ता फलफूलहरू माघमै फुल्ने जस्ता परिवर्तनहरू देखिन थालेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी काम गरिरहेको क्लिन इनर्जी नेपालका अमिता थापामगरले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण र वातावरणीय अनुकूल अनुसार नै अगाडि बढ्नु उत्तम हुने बताउनुभयो ।
चेस नेपालका संस्थापक अध्यक्ष राजकुमार पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल, साहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
अन्तक्रिर्या कार्यक्रममा जलवायु परिवर्तन, यसको असर र हाम्रो भूमिका विषयमा क्लिन इनर्जीका अनिता थापामगर, लमजुङमा जलवायु परिवर्तनको असर र अनुकूलन तथा न्यूनीकरणका लागि भएका प्रयासहरूकाबारेमा जिविस लमजुङका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलन र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी राष्ट्रिय नीतिहरूका बारेमा स्वच्छ ऊर्जाका मञ्जित ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।