रूपन्देही, माघ ११ गते । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले एकीकृत नेकपा माओवादीले शान्ति र संविधान निर्माणको कार्य अवरुद्ध गरेको आरोप लगाउनुभएको छ । उहाँले नैतिकताको आधारमा अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पनि बताउनुभयो ।
प्रेस युुनियन रूपन्देहीले बुधबार रूपन्देहीको बुटवलमा गरेको पत्रकार सम्मेलनमा डा. महतले माओवादीले जनयुद्धको बेला कब्जा गरेका जग्गा फिर्ता नगरी उल्टै वैधता दिने निर्णय गरेको भन्दै त्यो सरासर गलत भएको दाबी गर्नुभयो । उहाँले सरकारले गरेको उक्त निर्णय काँग्रेसलाई स्वीकार्य नहुने पनि बताउनुभयो ।
पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै उहाँले माओवादीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार नगरेको बरु रणनीतिक उपयोग गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'माओवादी अझै पनि हतियारविहीन हुन तयार छैन, उसले बहुलवादलाई उपयोग मात्र गरिरहेको छ । माओवादीका केही नेताले अझै पनि सडकबाट संविधान घोषणा गर्ने धम्की दिएको भन्दै त्यो नै उपयोगको दरिलो उदाहरण भएको उहाँले दाबी गर्नुभयो ।
एमाओवादी र मधेसी मोर्चाको गठन बन्धनको सरकारले लुटतन्त्र मच्चाएको आरोप लगाउँदै डा. महतले मधेसी मोर्चाका मन्त्रीले गरेको भ्रष्टाचारलाई माओेवादीले ढाकछोप गर्ने र माओवादीले गर्ने सरकारी निर्णयमा मोर्चाले समर्थन जनाउने काम भएको उल्लेख गर्नुभयो ।
छ महिनामा गर्ने भनिएको सेना समायोजन तथा पुनःस्थापनाको कार्य चार वर्षसम्म पनि पूरा नभएको भन्दै यसको सबै दोष माओवादीले नै लिनुपर्ने बताउनुभयो । उहाँले माओवादीले पूर्व सहमति कार्यान्वयन नगरेको आरोप लगाउनुभयो । उहाँले सबै दलले इच्छाशाक्ति देखाए जेठ १४ मा संविधान जारी गर्न सकिने पनि बताउनुभयो । उहाँले नेपाली काँग्रसभित्र केही विवाद रहेको स्वीकार गर्दै व्यवस्थापन गर्न नसकिने विवाद नभएको बताउनुभयो । सानातिना विवादलाई बाहिर प्रचारमा नल्याउन नेतृत्व तहका नेतालाई डा. महतले आग्रह पनि गर्नुभयो ।