नेपालगन्ज, माघ ११ गते । बाँकेमा अधिकांश आपराधिक घटना खुला सिमानाको फाइदा उठाएर भइरहेको प्रहरीले जनाएको छ । यहाँ हुने आपराधिक घटनामध्ये ८० प्रतिशत घटना खुला सिमानाको फाइदा उठाएर भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीले त्यस्ता घटना रोक्न पटक पटक सीमापारिका भारतीय अधिकारीहरूसँग आग्रह गरे पनि भारतीय पक्षले खासै चासो नलिँदा अपराध नरोकिएको प्रहरीको भनाइ छ । बाँकेका प्रहरी प्रमुख विक्रमसिंह थापा आएपछि बाँकेमा प्रहरीले अपराधी र भूमिगत समूहविरुद्ध कडा अभियान चालेपछि धेरै हदसम्म आपराधिक गतिविधि कम भए पनि सीमापारिबाट हुने आपराधिक घटनामा नियन्त्रण गर्न समस्या परेको छ । बाँकेमा हुने अधिकांश आपराधिक घटना सीमापारिबाट लुकेर अपराध गरेर पनि सीमापारि शरण लिन जाने भइरहेका कारण प्रहरीलाई समस्या भएको बाँकेका प्रहरी प्रमुख विक्रमसिंह थापाले बताउनुभयो ।
उहाँले अहिले प्रहरीलाई जिल्लाभरि नै कडा रूपमा परिचालन गरिएपछि विकट क्षेत्रका बासिन्दाले सुरक्षा अनुभूति गर्न पाएको प्रतिक्रिया आएको उहाँले बताउनुभयो ।
सीमापारि लुकेर बसेका अपराधीको सूची बनाएर भारतीय अधिकारीलाई बुझाउने र पक्राउका लागि सहयोग गर्न आग्रहसमेत गर्न लागिएको पनि उहाँले बताउनुभयो । भ्ाारतमा अपराध गरेर नेपालमा लुकेर बसेका अपराधी पक्राउ गर्न पनि भारतलाई नेपाल प्रहरीले सहयोग गर्ने उहाँले भन्नुभयो । यस्तै मानवअधिकारवादी संस्था इन्सेकका क्षेत्रीय संयोजक भोला महतले बाँकेमा अधिकांश आपराधिक घटना खुला सिमानाका कारण भएको बताउँदै मानवअधिकार र अपराधका घटनामा कमी ल्याउन सबै सरोकारवाला निकायद्वारा साझा अभियान सुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालमा अपराध गरी भारतमा बस्ने गरेका आपराधिक समूह तथा व्यक्तिहरूका बारेमा भारतीय सरोकारकारवाला निकायलाई दबाब दिन पनि जनस्तरबाटै अभियान चलाउनु पर्ने उहाँले बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले चन्दा, धम्कीबाट बैंक, शिक्षक, कर्मचारी, व्यापारीहरू पीडित भएको जनाउँदै त्यस्ता अपराध पनि सीमापारि बसेरै हुने गरेकोले सो रोक्न दुवै पक्षबाट सतर्कता अपनाउने वातावरण बनाउनु पर्ने बताउनुभयो । उहाँले त्यसका लागि प्रहरी र प्रशासनले निरन्तर प्रयास गरिरहेको जनाउनुभयो ।