देउखुरी -दाङ, माघ १४ गते । नेकपा एमालेका नेता केपी शर्मा ओलीले वर्तमान माओवादी नेतृत्वको सरकारले गरेको माओवादी जनसत्तासम्बन्धी निर्णय फिर्ता नभए सरकार ढालिदिने चेतावनी दिनुभएको छ ।
लमहीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता ओली सो चेतावनी दिनुभएको हो ।
म्ााओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा माओवादीको ज्यादतीलाई सरकारले मान्यता दिन थालेकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।
माओवादीको जनसत्ता भन्न्ो पनि थिएन केवल ज्यादती र कब्जाको कार्य थियो त्यसलाई वैधानिकता दिने कार्यलाई हामीले मान्दैनौ नेता ओलीले भन्नुभयो ।
शान्ति र संविधान लेखनको काम माओवादीबाटै प्रभावित भएको आरोप लगाउँदै वर्तमान सरकारको पछिल्लो गतिविधिले त्यसको पुष्ट्याई गर्ने पनि बताउनुभयो । लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने भनाइ राख्दै नेता ओलीले बहुमतीय आधारमा तयार पारिने संविधानको कुनै अर्थ नरहने टिप्पणी गर्नुभयो ।
माओवादीले सत्ता कब्जाको मानसिकता अझै नत्यागेको भन्दै माओवादीले अगाडि सारेको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आफूहरूलाई मान्य नहुने बताउनुभयो ।
पार्टीभित्रको आन्तरिक विवाद समाधानको विषयमा पत्रकारहरूको जिज्ञासामा नेता ओलीले माथिल्लोस्तरबाटै पार्टी एकताको सन्देश दिइएकोले केही समयभित्रै पार्टी पूर्ण रूपमा तल्लोस्तरसम्मको विवाद समाधान हुनेछ भन्नुभयो ।
त्यस्तै, नेता ओलीले दाङको लमहीको रोजिवड्स उमाविको वाषिर्क उत्सवलाई पनि सम्बोधन गर्नुभयो ।