कपिलवस्तु, माघ १४ गते । कपिलवस्तु -तिलौराकोट)को प्राचीन दरबार किनारमा रहेको पुरातात्विक क्षेत्र लोहसरिया स्तूपको उत्खनन सुरु गरिने भएको छ । बेलायतको दुरहृयाम विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा पुरातत्व विभागले संयुक्तरूपमा त्यस क्षेत्रको उत्खनन गर्ने छन् । पाँच वर्षे उत्खनन कार्यक्रमअन्तर्गत प्रथम चरणको कार्यक्रममा आगामी फेबु्रअरी पहिलो सातादेखि गरिने बताइएको छ ।
लुम्बिनी विकास कोषले कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको उत्खननसम्बन्धी अन्तक्रिर्या कार्यक्रममा उत्खननबारे जानकारी गराइएको थियो । दुरहृयाम विश्वविद्यालय बेलायतका पुरातत्वविद् तथा प्राध्यापक
रविन कनिङ्घमको नेतृत्वमा सातजनाको टोलीले सो काम गर्ने बताइएको छ ।
कार्यक्रममा पुरातत्वविद् वसन्त बिडारीले लोहसरीया स्तूप प्राचीन कपिलवस्तु राज्यका लागि हाथहतियार, भाँडाकँुडा बनाउने स्थल रहेको जानकारी गराउनुभएको थियो । सो उत्खननपछि तिलौराकोटको क्षेत्र नै प्राचीन कपिलवस्तु भएको आधिकारिकता अझ पुष्टि हुने उहाँको विश्वास छ ।
यो क्षेत्र औद्योगिक क्षेत्रसमेत हुनसक्ने र प्राचीन कपिलवस्तुको आर्थिक अवस्थाकाबारेमा समेत उत्खननबाट थप जानकारी प्राप्त हुने विश्वास उत्खननमा सहभागी प्राध्यापक रविन कनिङ्घमले बताउनुभयो । यस उत्खननले
दक्षिण एसियामै सबैभन्दा पूर्ण उत्खननको प्रतिनिधित्व गर्ने उहाँको दावी छ ।
उत्खननबारे राखिएको अन्तक्रिर्या कार्यक्रममा पुरातत्व विभागका भेषनारायण दहाल, कोषका सदस्य सचिव राजेन्द्र थापामगर, पुरातत्वविद् सुनिल दहाल, प्रजिअ डा. कमलेश्वर सिन्हा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले सो विषयमा आ-आफ्नो विचार राख्नुभएको थियो ।