कपिलवस्तु, माघ १४ गते । दाबी गरिएको व्यक्तिगत सम्पत्ति कपिलवस्तुको तौलिहवास्थित प्राचीन ताम्रेश्वर मन्दिरलाई सार्वजनिक फैसला जिल्ला अदालतले गरेको छ । अदालतले मन्दिर तथा सो क्षेत्रभित्र रहेको जग्गा र बनेका भवनहरू सार्वजनिक भएको फैसला गरेको हो । जिल्ला न्यायाधीश नारायणप्रसाद श्रेष्ठको एकल इजलासबाट विजयप्रताप पुरीसहित उनका पाँच जना नातेदारका नाममा दर्ता रहेको सो मन्दिर तथा त्यहाँ रहेको जग्गा सार्वजनिक रहेको फैसला भएको हो ।
अदालतले हाल भारतमा बस्दै आएका विजयप्रताप पुरीको नाममा रहेको कित्ता नम्बर ५०४/२, ५०५, ५०६ र अजयप्रताप पुरीसमेत तीन जनाको नाममा भिन्नभिन्न नम्बरमा गरिएको समेत जग्गाको दर्ता बदरसमेत गरेको छ ।
त्यस्तै, सर्वेश्वर, सुरेश्वर, अखिलेश्वर, सोमेश्वर पुरीको व्यक्तिगत नाउँमा रहेको विभिन्न कित्ता नम्बरको त्यहाँको जग्गासमेत सार्वजनिक रहेको फैसला भएको छ । मन्दिरको जग्गाको वरिपरि २५ भन्दा बढी सटर तथा घरहरू छन् ।
अदतालतले विगतमा बिक्री गरिएका मन्दिरको २६८/१ र २६८/२ कित्ता नम्बरको जग्गासहितको दुई तले घरको राजीनामा बदर गरी उक्त सम्पत्ति पनि मन्दिरको भएको फैसला गरेको छ ।
तौलिहवाका व्यापारी राजेन्द्रकुमार बर्माले सार्वजनिक जग्गा सम्बन्धमा १० नम्बर महल अनुसार अदालतको स्वीकृति लिएर सो विषयमा पुरी परिवारविरुद्ध मुद्दा दर्ता गरेका थिए । उनले २०६६ असार १२ गते पुरी परिवारको नाममा दर्ता रहेका मन्दिरसहितको जग्गा सार्वजनिक गरिनुपर्ने भन्दै अदालतमा मुद्दा दिएका थिए ।
अदालतको उक्त फैसलाको स्वागत गर्दै बर्माले अब मन्दिर जनताको भएको र यस्ामा सबैको अधिकार स्थापित भएको बताउनुभयो । यसअघि मन्दिरमा चढाइएका भेटी तथा आयस्ता सबै पुरी परिवारले लिने गरेको र उनीहरूले नै पुजारीसमेत राख्ने गरेका थिए ।