इनरुवा, माघ १५ गते । सुनसरीको घुस्की गाउँ विकास समितिको कार्यालयका गाविस सचिव शालिग्राम गुरागाईसँग गाविसमा अनियमितता गरेको विषयमा जिल्ला विकास समितिले स्पष्टीकरण मागेको छ ।
सुनसरीको घुस्की गाविसमा गत आर्थिक वर्षमा लाखौँ रुपियाँ अनियमितता भएको विषयमा स्थानीयहरूले जिल्ला विकास समिति सुनसरीमा उजुरी गरेपछि गाविस सचिवसँग स्पष्टीकरण मागेको हो ।
स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले गाविसको दलीय संयन्त्रको निर्णय कार्यान्वयन नगरी गाविस सचिव गुरागाईं र खरिदारले मनोमानि ढङ्गबाट रकमको दुरूपयोग गरेकेा भन्दै आइतबार उजुरी गरेपछि स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईले स्पष्टीकरण माग्नुभएको हो ।
सो गविसमा झन्डै १९ लाख रूपियाँ बेरुजु रहेकेा स्थानीय राजनीतिक दलहरूले दाबी गरेका छन् । शिक्षा, स्वास्थ्य, बालबालिका र लक्षित वर्गको रकमसहित सो बराबरको बेरुजु रहेकेा स्थानीयहरूले दाबी गरेका छन् ।
राजनीतिक दलहरूले विभिन्न १९ जनाको नाममा रकम बेरुजु रहेको दाबी गरेका छन् । गाविसका सचिव सालिग्राम गुरागाइर्ंमाथि समेत योजना पेस्कीबापत एक लाख ६७ हजार ८५० रूपियाँ बेरुजु रहेको दलहरूले दाबी गरेका छन् ।
स्थानीय दलका प्रतिनिधिहरूका अनुसार गाविसको १९ लाख ८४ हजार ७९१ रुपियाँ बेरुजु रहेकेा छ । काम सम्पन्न गरेको र केही बाँकी रहेकेा भए पनि सामाजिक लेखा परीक्षण नगराई अपारदर्शी रूपमा पुनः योजना तर्जुमा गोष्ठी सदरमुकाममा गर्न खेाजेपछि यस्तो रहस्य बाहिर आएकेा हो । गाविसले केही कर्मचारीसँग र सीमित व्यक्तिसँग मिलेर अनियमित तरिकाले काम गरेको स्थानीयहरूको दाबी रहेको छ ।
घुस्किमा भएको अनियमितताको विषयमा छानविन गर्न जिल्ला विकास समितिसँग स्थानियहरूले माग गरेका छन् । राजनीतिक दलहरूले गाविस सचिवले एकतर्फी रूपमा काम गरेकेा र सो कामको अझैसम्म फरफारक नगरेकेा भन्दै नयाँ योजना तर्जुमा गोष्ठीमा बस्नुको औचित्य नरहेकेा भन्दै योजना तर्जुमा गोष्ठीसमेत बहिष्कार गरेका छन् ।
उनीहरूले राजनीतिक संयन्त्र खारेजीको सरकारले निर्दैशन दिए पनि पुरानो हरहिसाब मिलानका लागि गाविस सचिवले झुक्याउन खोजेकेा गाविसका पूर्व उप प्रधान ताहिर अन्सारीले गुनासो गर्नुभयो ।
यसैबीच यहाँका १४ राजनीतिक दलहरूले पारदर्शिता र मितव्ययीको माग गर्दै सामाजिक लेखापरीक्षण गराई गाविसमै योजना तर्जुमा गोष्ठी गर्न माग गरेका छन् ।
यता गाविस सचिव गुरागाईले आफूले अनियमितता नगरेको दाबी गर्नुभएको छ । गाविसको केही व्यक्तिलाई चित्त बुझाउन नसेकाले यस्तो उजुरी परेको बताउनुभयो ।