काठमाडौँ, चैत १३ गते। इकलाख अहमदले चार विकेट लिएपछि क्षेत्र नम्बर-४ भैरहवा सोमबार क्षेत्र नम्बर-५ नेपालगञ्जलाई ७६ रनले हराएर यु-१६ राष्ट्रिय क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ। आजै गत विजेता क्षेत्र नम्बर-२ वीरगञ्ज क्षेत्र नम्बर-७ जनकपुरसँग दुई विकेटले पराजित भएपछि प्रतियोगिताबाट पाखा लाग्यो।
समूह 'ए'मा वीरगञ्ज सबभन्दा पछाडि छ। सो समूहमा बैतडी दुवै खेल जिती चार अङ्क बनाई शीर्ष स्थानमा रहेको छ। समूह 'बी'मा रहेको भैरहवाले चार अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ। विराटनगर र क्षेत्र नम्बर-८ पोखराले एक/एक खेल जितेर समान दुई/दुई अङ्क बटुलेका छन्। नेपालगञ्ज अङ्कविहीन छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले ३९.२ ओभरमा १६५ रन बनाएको थियो। नेपालगञ्ज जवाफमा २२.४ ओभरमा ८९ रनमा अलआउट भयो। सो खेलमा चार विकेट लिएका अहमद सर्वश्रेष्ठ खेलाडी घोषित भए।
गत विजेता वीरगञ्जले आफ्नो कमजोर प्रदर्शनलाई आज पनि निरन्तरता दियो। पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वीरगञ्जले अकिब अली अन्सारीको ६१ रनको पालि हुँदाहुँदै पनि ३०.३ ओभरमा १३० रन मात्र जोड्न सक्यो। अन्सारीले ८३ बलको सामना गर्दै सात चौका प्रहार गरे।
जनकपुरले लक्ष्य ३०.१ ओभरमा आठ विकेटको नोक्सानीमा प्राप्त गर्यो। शशिभूषण मिश्रले अर्धशतक बनाएपछि जनकपुरको जित सहज बनयो। मिश्र नै 'म्यान अफ द म्याच' घोषित भए।