एकादेशमा वनकरिया राउटेहरू राज खान्दानमा थिए। राउटेलाई वनका राजा मानिन्थ्यो। देशमा पर्जातन्त्र आयो राउटेहरू राजाबाट मुखिया खान्दानमा झरे। उहिले नै उहिले धेरै नै पहिले कुसुन्डालाई पनि राजा मानिन्थ्यो। अझै पनि कुसुन्डाका प्रतिनिधिलाई 'राजामामा' भन्ने गरिन्छ। उहिले 'वनका राजा कुसुन्डालाई हजुर भन्नुपर्यो' बोलको गीत नै थियो। यो गीतको मुखडा र अन्तरामा के-के थियो ? गीतका गेडाले के-के भनेका थिए ? यी कुरा जेष्ठ नागरिकलाई मात्र थाहा होला। तर, कुसुन्डाहरू धेरै अघि जङ्गलबाट बस्तीतिर बसाइँ सरेकाले तिनको राजपाट उत्तिनैखेर चिलिमच्वाँट भयो। कुसुन्डाहरू नाममात्रका राजा भए। कुनै आन्दोलनविना नै राजपाट र श्रीपेच 'शिव बिँडी' भयो ।
अब वनमा राउटेहरू मात्र विचरण गर्दै छन्। तर, तिनको पनि कुसुन्डाकै हाल हुने करिब पक्का छ। कुसुन्डाको राजपाट धेरै अघि चिलिमच्वाँट भयो। राउटेको राजपाट लोकतन्त्रमा जाला जस्तो छ। लोकतन्त्रमा धेरै पार्टी हुन्छ। कुनै न कुनै पार्टीमा नलागी मान्छेलाई धरै छैन। झन्डै दुई दर्जनभन्दा बढी पार्टी भएको देशमा राउटेचैँ कुनै पार्टीमा नलागी स्वतन्त्र बस्न सक्ने कुरै आउँदैन। यसैले त राउटे समुदायमा पनि पार्टीहरू घुस्न थालेको छ। उसो त पार्टी नपसेको ठाउँ नै कहाँ होला र ? कर्मचारी, मजदुर, किसान, व्यापारी, उद्योगपति, वकिल, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, नागरिक समाज जताततै पार्टी नघुसेको क्षेत्रै छैन। पानीगुन्डा -जलगुन्डा ), डन, टोलेदादा, पुलिस, पाकेटमार, पत्रकार, वेश्या -नगरबधू) आदि-उदिमा पनि पार्टी पुगेकै छ। तस्कर, डाँका, जद -राष्ट्रिय व्यापारी), भ्रष्टाचारी, मानव तस्कर, दुराचारी, पापाचारी सबैमा पार्टीको जनवर्गीय सङ्गठन छ। उदाहरणका लागि केही पार्टीको 'डन' सङ्गठन हेरे पुग्छ। जस्तो, एमालेसम्बद्ध नेपाल लोकतान्त्रिक डन युनियन -चमेरे समूह), नेपाली काँग्रेससम्बद्ध प्रजातान्त्रिक डन सङ्घ -कमिले समूह), माओवादीसम्बद्ध गणतान्त्रिक डन मोर्चा
-क्रान्तिकारी)।..............................................
तर, पार्टी नपुगेको, नघुसेको ठाउँचैँ राउटेमात्र थियो। त्यहाँ पनि पार्टी घुसेपछि राउटे पनि बिटुलिएको छ। राउटेभित्र पार्टी घुस्नासाथ राउटेहरू पनि फुट्न थालेका छन्। उहिले नै उहिले धेरै नै पहिले कसैको घरपरिवार भाँड्नुपर्यो भने 'तेरो घरमा काँग्रेस पसिजाओस्' भनेर सराप्थे रे। काँग्रेस पसोस् भनेको त्यो घरका कोही काँग्रेस पार्टीको सदस्य बनून् भन्ने नै हो। राणाकालमा काँग्रेस हुनु अत्यन्तै कठिन थियो। परिवारमा कोही काँग्रेस भए भने त्यसलाई प्रहरी प्रशासनले हदैसम्मको दुःख दिन्थ्यो। उसको घरखेत सर्वस्वहरण हुन्थ्यो। जेल जानुपथ्र्याे। मुङ्लान भासिनुपथ्र्याे। सरकारले मौतका घाटमा पनि पुर्याउँथ्यो। काँगे्रससँग हिमचिम गर्दा पनि चारपाटा मुडिन्थ्यो। पञ्चायतमा पनि अराष्ट्रिय तत्त्व -अत) भनेर कैयौँ काँग्रेसी मारिएका छन्। राम-लक्ष्मण, भीमबहादुर, यज्ञबहादुर पञ्चायतकालमा मारिएका हुन्। काँग्रेस भएबापत अनेक सास्ती खानुपर्ने हुनाले त्यतिखेर तेरो घरमा काँग्रेस पसिजाओस् भनेर सरापेको हो। काँगे्रस हुँदा परिवारको बिल्लिबाँठ हुने भएकाले जोरीपारीले रिस गर्दा यस्तो सराप गर्थे। आजकाल भने कसैको बिल्लिबाँठ गराउनु छ भने भएभरका पार्टी पसाइदिनुपर्छ। त्यो समुदाय दिउँसै सेन्टिफ्ल्याँट हुन्छ, रात पर्खिरहनु पर्दैन। पार्टीमा घुसेर अरूलाई कज्याउँदै कुनै व्यक्तिविशेषमाथि पुग्यो भने त्यसको एक मानाको बन्दोबस्त होला तर चौवन्नी कार्जेकर्ताको चैँ 'लोन्टाखारा' नै हुन्छ। त्यस्ताका छोराछोरी केही डाक्टरी विद्या -एलोपेथिक दुव्र्यसन) कोही वैद्य विद्या अर्थात् आयुर्वेदिक -गँजेडी दु्व्र्यसन) मा फसेको कहानी हाम्रो समाजमा व्याप्त छ।
अलि-अघि राउटेहरू बेलाबखत मात्र सहर पस्थे। काठका भाँडा, ढुङ्ग्रो, चुँदेरो, ठेकी, हर्पे, सन्दुक, बाकस जङ्गलमा बनाएर सहरमा बेच्न आउँथे। त्यै बेचेको सामानले एक मानाको गर्जो टार्थे। पर्जातन्त्र आएपछि राउटे विचरण गर्ने वन-जङ्गल कबुलियत र सामुदायिक वनमा फेरियो। राउटेका जङ्गल बस्तीका टाठाबाठाको हातमा पुग्यो समुदायिक वनका नाममा। राउटेले राज गरेको जङ्गली राजपाट सिद्धियो। यसरी पर्जातन्त्रले राउटेलाई राजाबाट मुखियामा थाहा नपाई झार्यो। यता सामुदायिक वनमा राउटेले ज्युनार गर्ने गुनाबाँदर पनि सिद्धियो। यसरी पर्जातन्त्रबाट लोकतन्त्रमा आइपुग्दा राउटे विलखबन्दमा पर्दै गए। र, राउटेको सहारा अब सहर बन्न थाल्यो। उनीहरू गर्जोे टार्न सहर पस्न थाले। राष्ट्रपति, प्रधानमन्त्री, प्रशासकसँग हात फैलाउन थाले। सरकारले राउटेलाई भत्ता बन्दोबस्त गरिदियो। सरकारका मन्त्रीहरूले राउटेलाई राजधानीको पाँचतारे होटलमा मसिना चामलको 'भुजा', रोस्ट ज्युनार गराए। पाँचतारेमा 'साउना बाथ' गराए। प्रशासकले खसी, चाडबाड, दसैँ खर्चबर्चको बन्दोबस्त गरिदिए। साहु-महाजनले जडौरी लुगाफाटो दिए। एनजीओले बिँडी, चुरोट किन्दिए। जाउलाखेलको चिडियाखाना देखाएर त्यसरी नै पाल्ने आश्वासन बाँडे।
राउटेहरूमा राजनीतिको अलि-अलि चस्का घुसाइदिए। राउटेको तनमा पार्टीको विचार पसाए। शान्त तलाउमा बेडेमानको ढुङ्गा हानेजस्तो भयो। राउटे तालमा छाल तरङ्ग उठ्यो। राउटेको रौँ-रौँमा पार्टीको वायु पस्यो। यसरी नेपालका बाह्रमासे पार्टीहरू राउटेमा घुस्नसम्म घुसे। पार्टी राउटेमा घुसेको मात्र थियो, राउटेका मुखिया ऐनबहादुर शाही भ्रष्टाचारीमा दरिए। ऐनबहादुरलाई राउटेको अख्तियारले डाम्यो। राउटे अदालतले मुद्दा चलायो। उनलाई राउटे संसद्ले अविश्वासको प्रस्ताव ल्याएर मुखियाबाट हटाए। राउटे संसद्ले मैनबहादुर शाहीलाई मुखिया तोक्यो। धनबहादुर, सुर्जेबहादुर र दिलबहादुर शाही सहायक मुखिया भए। तर, ऐनबहादुर शाहीले मैनबहादुर शाही मुखिया भएको स्विकारेनन्। नेपालका राजनीतिक पार्टीमा झैँ एकले अर्कोलाई कारबाही गरेजस्तै निलम्वन गरागर गरे। दुवैले राउटे जनताको जनादेशबमोजिम आ-आफ्नो पक्षपोषण गरे। यसरी राउटेमा नेपालका पार्टीहरूको काँचो वायु पस्यो। कुहिगन्ध छिर्यो। राउटेको गुट-उपगुट जन्मियो। नेपाल राउटे सङ्गठन
-ऐनबहादुर समूह), नेपाल राउटे दल -मैनबहादुर समूह), सूर्जेनारान, दिलबहादुर, धनबहादुर गुट। यसरी राउटे गुटैगुटको महागुट भएको छ। कुनै पनि बेला नेपालका राजनीतिक पार्टीमा राउटेको भ्रातृसङ्गठन पनि बन्नेछ। त्यस्तो भयो भने ती भ्रातृ सङ्गठनको नाम तपसिलबमोजिम हुनेछ। जस्तै, एमाओवादीसम्बद्ध 'गणतान्त्रिक राउटे मोर्चा -क्रान्तिकारी), नेपाली काँग्रेससम्बद्ध 'प्रजातान्त्रिक राउटे सङ्घ -कमिले) र नेकपा एमालेसम्बद्ध 'लोकतान्त्रिक राउटे युनियन -चमेरे) आदि। निष्कर्षमा यो भन्न सकिन्छ, यसरी राउटेहरू राजाबाट मुखिया हुँदै अहिले कुरौटे हुन पुगे।