काठमाडौँ, चैत १९ गते। ओलम्पिक छनौट प्रतियोगिताअन्तर्गत कजाखस्तान जाने नेपाली बक्सिङ टोलीको आइतबार दुई बक्सिङ सङ्घले छुट्टाछुट्टै रूपमा राष्ट्रिय खेलकुद परिषद् -राखेप) मा बिदाइ गरेका छन्।
दुवै कार्यक्रममा राखेपका पदाधिकारी अतिथिको रूपमा सामेल थिए।
कजाखस्तानमा चैत २२ देखि वैशाख १ गतेसम्म हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व एसियाड पदकधारी दीपक महर्जनले गर्दैछन्। अनुप लामा उनको बक्सिङ प्रशिक्षकको रूपमा रहेका छन्।
गत साधारण सभापछि बक्सिङ सङ्घ अहिले दुई खेमामा विभाजित छ। गत फागुनमा साधारण सभापछि बहुमतले राजीव श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरिएको थियो। सो सङ्घले गत बिहीबार मात्र फिफाको मान्यता पनि पाएको छ तर स्थगनपछि निर्वाचन सम्पन्न गरेको भन्दै रविराज थापाको खेमाले त्यसलाई अस्वीकार गर्दै आएको छ।
थापाले बिदाइ कार्यक्रममा राखेपले विवाद भएको समयमा आयोग गठन गरेर समस्याको समाधान गरेको भए अहिले बक्सिङ सङ्घमा दुई गुट नहुने बताए।
काजखस्तानमा हुने प्रतियोगिता लन्डन ओलम्पिकको अन्तिम छनौटको रूपमा रहेको छ।