विक्रम संवत् अनुसार भोलि वैशाख १ गतेदेखि नयाँवर्ष प्रारम्भ हुँदैछ। प्राचीनकालदेखि चलनचल्तीमा आइरहेकाले विक्रम संवत्ले नेपालको सार्वभौम पहिचान दिन्छ। एउटा महìवपूर्ण कुरा के छ भने विक्रम संवत् प्रारम्भ हुने मेष संक्रान्तिको दिन अर्थात् वैशाख १ गतेको दिन बिहानै नेपालकै सिराहा जिल्लामा विक्रम संवत् प्रकृतिसँग सम्बन्धित छ भन्ने एउटा आश्चर्यजनक प्रकरण देख्न सकिन्छ। त्यहाँ 'हरेक वर्ष मेष संक्रान्तिका दिन सलहेस नामक फूल फुल्ने गर्छ। सिराहाको लाहानदेखि चार किलोमिटर पश्चिममा वर्षमा एक दिन मेष संक्रान्तिका दिन मात्र फूल्ने सलहेस फूल यस्तो फूल हो, जसमा माला जस्तो लामो झ्याम्म परेको आकृत्ति देखिन्छ। अचम्मको कुरा के छ भने अघिल्लो दिन कोपिला लाग्ने यो फूललले बिस्तारै आकार लिँदै गएर नयाँ वर्षको बिहानी वैशाख १ गतेसम्म मालाको आकार ग्रहण गर्दछ। वैशाख १ गतेको बिहान फक्रने र साँझदेखि ओइलाउँदै भोलिपल्ट झर्ने गर्छ।- -गोरखापत्र वैशाख १, २०६६) यो प्राकृतिक चमत्कार हेर्न र ईश्वरीय देनको रूपमा दर्शन गर्न बिहानैदेखि असंख्य नरनारीको भीड लागेको हुन्छ। यस हिसाबले विक्रम संवत्को प्राकृतिक रूपमासमेत पूजनीय स्थान छ। विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्मा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। विक्रम संवत् प्राकृतिक रूपमा सञ्चालित हुँदै आएको छ। विक्रम संवत्का बारेमा अनेकौं विवाद पनि प्रस्तुत भइरहेका छन्। विक्रम संवत् नेपालको आदि संवत् हो।
मेष संक्रान्ति भन्दा लगभग १५।१६ दिन अगाडि चैत्र शुक्ल प्रतिपदादेखि शक संवत् प्रारम्भ हुन्छ। विक्रमादित्य राजाको बारेमा पनि वंशावलीमा केही उल्लेख भेटिन्छ। तत्कालीन श्री ५ को सरकार पुरातìव विभागबाट प्रकाशित श्री नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीमा धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा -हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम संवत् प्रचलनमा आएको भन्ने उल्लेख छ। त्यस्तै काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ। विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन्। यसक्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नुपर्ने कुनै कारण हुँदैनथ्यो। यिनै चक्रवर्ती राजाले नेपाललाई विस्तार गर्दै कासीसम्म पुगेका र कासीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्द पुराणको हिमवत्खण्ड पुस्तकमा उल्लेख छ।
योगी नरहरिनाथले "श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः"भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहासन थियो भन्ने पाइन्छ भन्नुभएको छ। पशुपति पुराणमा उल्लेख छ- 'अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते' अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखि नै विक्रम संवत् सुरु भएको मानिन्छ।
विक्रम संवत्, शाके संवत् भन्दा १३५ वर्ष जेठो, नेपाल संवत् भन्दा ९३६ वर्ष जेठो र ईस्वी संवत् भन्दा ५७ वर्ष जेठो छ। विक्रम संवत् र नेपाल संवत्को उठान नेपालमै भएको हो। वैदिककालदेखि तिथिको आधारमा चल्दै आएको विक्रम संवत्मा तिथिहरू थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठ्यारो हुने हुँदा ज्योतिषहरूको सल्लाह र सुझावमा सजिलोका लागि चन्द्रशमशेरले गतेमा लेख्ने चलन चलाएका हुन्। नेपाल संवत् र शक संवत्हरू अध्यावधि तिथिको आधारमा मात्र चलेका छन्। विक्रम संवत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरूका दिनहरू निर्धारण गरिएका हुन्। मीन राशि समाप्त भई मेष राशि प्रारभ्भ हुनासाथ वैशाख महिना सुरु हुन्छ।
विक्रम संवत् हिमवत्खण्ड एकीकरण पूर्वका नेपालका विभिन्न साना राज्यहरूमा प्रचलित रहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रूपमा स्थापित भएको छ। पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा- 'राजा पृथ्वीनाराणको वंश गुहृयेकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्' उल्लेख गरेका थिए। लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ। जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा 'विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु' उल्लेख छ। मोरङका राजा हरिश्चन्द्र सेन र वृषसेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरू भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातìव संग्रह -२०१८)मा प्रकाशित गराएका छन्। फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ। गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ। अछामको वरदादेवी मन्दिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ।
भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिम पटि्टको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम संवत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गर्नुभएको छ। राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भूवनलाल प्रधानले उल्लेख गर्नुभएको र जयप्रकाश मल्लले विक्रम संवत् १८१४ मा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले 'इतिहास संशोधनको प्रमाण प्रमेय' मा उल्लेख गर्नुभएको छ। विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रूपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम संवत् १९१० मा संग्रह गरी विक्रम संवत् नै उल्लेख गरेका छन्।
कतिपय व्यक्तिले विक्रम संवत् नेपालको संवत् नै होइन भनेकाले यसबारेमा केही तथ्यहरू उजागर गरिनु अत्यावश्यक छ। विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित संवत्हरूलाई विक्रम संवत् ठहर्याएका थिए। त्यसै गरी कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन- 'मानदेवको पालाको संवत् ३८६ को चाँगुको अभिलेखको संवत् 'विक्रम संवत् हो। यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन्।' यसैगरी नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरू शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरूलाई विक्रम संवत् मानेका छन् तर कतिपय इतिहासकारहरूले मानदेव प्रथमको शासनकालमा उल्लेखित चाँगुनारायणलगायत लिच्छवि शासनकालका सम्पूर्ण संवत् सम्बन्धित अभिलेखहरूलाई कार्तिकादि संवत् हुन् भन्दै शक संवत् भनेका छन्। यसले गर्दा इतिहास लेखनमा धेरै भ्रम सिर्जना भएको छ किनकि शक संवत् कार्तिकादि नभएर चैत्र शुक्ल प्रतिपदाबाट मात्र प्रारम्भ हुने भएकाले शक संवत्लाई जबरजस्त कार्तिकादि भन्न मिल्दैन। त्यसो भएकाले चाँगुनारायण लगायत लिच्छवि शासनकालका उल्लेखित संवत्हरू विक्रम संवत् नै मानिन्छन्।
कतिपयले विक्रम संवत् भारतको उज्जयनीबाटै उठान भएको भनेका छन्। यदि त्यसो हँुदो हो त त्यस्ता पराक्रमी राजाका बारेमा केही न केही प्रमाण त्यहाँ भेटिन्थे तर छैनन्। विक्रम संवत् यसक्षेत्रको प्रचलित संवत् भएको कुरो राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारमा लेखेका अभिलेखबाटै प्रमाणित हुन्छ। इतिहासकार दिनेशराज पन्तले 'राजीवलोचन जोशीका बराज्यू' नामक पुस्तकमा विक्रम संवत् १७२१ मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम संवत् १७४१ मा लमजुङमा केहरिनारायण शाह राजा थिए। केहरिनारायणका नाति वीरमर्दन शाह हुन्। विक्रम संवत् १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी -पूणिर्मा १० पूणर्ाङ्क ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ मा वीरमर्दन शाहका दरबारमा जोतिषी काम गरी रागिनासमा विर्ता पाईर् बस्याका सदानन जोशी हुन् भनेर त्यतिबेला विक्रम संवत् चलनचल्तीमा लोकपि्रय भएको कुरा उल्लेख गर्नुभएको छ। इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्- 'विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसी, चौबीसी, सेन, मल्ल, शाह राजाहरूले चलाउँदै आएका थिए। केन्द्रका तीन सहरका मल्लराज्यहरूमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरूमा विक्रम संवत्को प्रयोग हुँदैआएको थियो। भक्तपुरमा नववर्ष प्रारम्भ हुँदा धूमधामसाथ बिस्केट जात्रा मनाइन्छ। तराईमा थारूहरू वैशाख सुरु हुने दिनदेखि नै सिरुवाजात्रा मनाउँछन्।' त्यस्तै अरुणकुमार पाण्डे लेख्छन्- 'सृष्टिको आरम्भमा सूर्यलगायतका ग्रह नक्षत्र शून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम संवत्को गणनापद्धति सुरु हुन्छ। विक्रम संवत् विश्वब्रहृमाण्डका ग्रहगति र प्रकृतिसँग सापेक्ष छ। नेपालमा विक्रम संवत्ले सबै जाति, भाषा, धर्म, संस्कृति र विविधतालाई समिटेको छ।'
ईस्वीपूर्व ३०० तिरका चन्द्रगुप्त मौर्यको विषयमा कौटिल्य जस्ता विद्वान र मेगस्थनीज तथा फाहियानको यात्रा वर्णनमा उल्लेख भएको पाइन्छ भने सन् ४०० तिर चन्द्रगुप्त राजाको विषयमा कालीदास जस्ता विद्वानहरूले आफ्ना कृतिहरूमा उल्लेख गरेका छन्। समुन्द्रगुप्तको विषयमा प्रयागको शिलालेख प्रसिद्ध छ, शक संवत् उठान गर्ने कनिष्कको बारेमा पनि धेरै प्रमाण पाइन्छन् भने त्यहाँ विक्रमादित्य राजाको पनि अस्तित्व भएको भए कुनै न कुनै शिलालेख वा त्यसबेलाका कविहरूले लेखेका केही न केही प्रमाणहरू भेटिन्थे होलान् तर त्यस्ता प्रमाणहरू केही पाइँदैन। चौथो शताब्दितिर उज्जयनीको राजा भई सन् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्यालाई आफ्नो कब्जामा लिई राजधानी बनाएपछि तामाका सिक्कामा चन्द्रगुप्त द्वितीयले आफूलाई 'विक्रमादित्य' अंकित गराएका थिए। त्यत्तिकै आधारमा उनी नै विक्रम संवत्का प्रणेता थिए भन्न मिल्दैन।
नेपालका लिच्छवि राजाहरूसँग मगदका गुप्त राजाहरू अत्यन्तै प्रभावित भएकाले चन्द्रगुप्त प्रथमले नेपालका लिच्छवि राजाकी कन्यासँग वैवाहिक सम्बन्ध जोडेका हुनाले सन् ३३० तिर आफ्नो मुद्रामा 'लिच्छवयः' र 'लिच्छवि दौहित्री' अंकित गरेको कुरालेे नेपालका लिच्छवि राजाहरूको पराक्रमको प्रभावले चन्द्रगुप्त द्वितीयले 'विक्रमादित्य'को उपाधि पनि अवलम्बन् गरिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ तर चन्द्रगुप्त द्वितीयले चौथो शताब्दिमा आफूलाई विक्रमादित्य उपाधिबाट विभूषित गर्दैमा विक्रम संवत् भारतबाटै उठान भएको थियो भन्न सकिँदैन। इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ- 'जुन समय ई.पू. ५८ वर्षमा यो संवत् उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन। उज्जयनीका खण्डहरूको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिन्ह भेटिएको छैन।' फलतः विक्रम संवत् हिमवत्खण्ड नेपालको आदि र मौलिक संवत् भएकाले यसले युगौदेखि कुनै पनि प्रकारको औपनिवेसिक प्रभावमा पर्न परेको छैन। त्यसैले विक्रम संवत् नेपालको गौरवमय पहिचान हो।