नयाँदिल्ली, वैशाख ३ गते। इन्डियन पि्रमियर लिगमा आइतबार किङ्स इलेभन पन्जाबले रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सलाई दुई रनले हराएको छ।
पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। कोलकाता घरेलु मैदानमा सामान्य लक्ष्य पछ्याउन पनि असफल भयो। कोलकातासमक्ष अन्तिम ओभरसम्म पनि खेल जित्ने मौका थियो। पन्जाबका बलरले सटीक बलिङ गर्दै सामान्य योगफल पनि जोगाए।
लेग स्पिनर पीयूष चावलाले मनविन्दर विस्ला, युसुफ पठान र सकिब अल हसनलाई छिटोछिटो पवेलियन फर्काएपछि जिततर्फ अग्रसर कोलकाता दबाबमा परेको थियो। कोलकाताले २० ओभर सकिँदा सात विकेटको क्षतिमा १३२ रनमात्र बनाउनसक्यो।
यसैगरी शनिबार राति पुनेले चेन्नईलाई सात विकेटले हराएको थियो। चेन्नईले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १५५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो तर जेसी राइडरले ५६ बलमा अविजित ७३ रनको पालि खेलेपछि पुनेले चार बल बाँकीछँदा जित हासिल गर्यो। एजेन्सी