प्रकृति, प्राकृतिक वातावरण र यसभित्रका सम्पदाका दृष्टिले नेपाल निकै सम्पन्न मुलुकका रूपमा परिचित छ। नेपाल मेचीदेखि महाकालीसम्म करिब ८८५ वर्गमाइल, तराईको समथर क्षेत्र, दक्षिणी भारतको सीमादेखि चीनसम्म करिब १९३ वर्ग माइल क्षेत्रभित्र फैलिएको सानो भूभाग भए पनि तराई, चुरे क्षेत्र, पहाड तथा हिमाल जस्ता विविधतायुक्त रहेको छ। प्राकृतिक तथा जैविक सम्पदामा विश्वमा नै पाइने जीवजन्तुका प्रजातिमा नेपाललाई धनी मुलुक मानिन्छ ।
प्रकृतिभित्र विद्यमान वानस्पतिक सम्पदा, विश्वमा पहिचान भएका स्तनधारी प्राणी, हावापानी, वातावरण लगायतका पक्षलाइ हेर्दा नेपाल अनुपम सम्पदाले भरपूर देश मानिन्छ। यहाँको अवस्थालाई हेर्दा वन्यप्राणी, चरा, वनस्पति लगायतमा प्रशस्त विविधता पाइन्छ। वन तथा भूसंरक्षण मन्त्रालयका अनुसार, विश्वमा पाइने जीवजन्तुका चार दशमलव ३, चराका नौ दशमलव ५ प्रतिशत प्राणी नेपालमा पाइन्छन््।
यही भौगोलिक वातावरणभित्र ३९ परिवारमा परेका १८५ स्तनधारी प्रजाति नेपालमा पाइन्छन््। विभिन्न प्राकृतिक प्रणालीले भरिएका वातावरणभित्रका अनुपम बासस्थानका कारण पुतलीको ११ परिवारका ६४५ प्रजाति र त्यसमध्ये २९ प्रजाति रैथाने, १४२ प्रजाति विनाश तथा लोपको अवस्थामा पुगेका छन् भने १२ प्रजाति लोप तथा सङ्कटापन्न अवस्थामा छन््।
कीराको हकमा भने हालसम्म पाँच रैथाने प्रजातिसहित २२ परिवारका पाँच हजार ५२ प्रजाति भएको विवरण छ। यसैगरी, पहिचान भएका १८५ प्रजातिका माछामध्ये आठ रैथाने, नौ अति संवेदनशील र २४ प्रजाति दुर्लभ मानिएका छन्। नेपालमा नौ रैथाने प्रजातिलगायत ४३ उभयचरका प्रजाति, दुई रैथाने प्रजातिसहित १०० घस्रने जन्तुका प्रजाति पाइएको छ। माकुराका १४४ प्रजाति पाइएका छन्।
प्राकृतिक तथा वातावरणीय अनुकूलता र विभिन्न परिस्थितिकीय प्रणालीका कारण नेपाल वन्यप्राणीका लागि भरपर्दो स्थल मानिन्छ । विश्वमा पाइने करिब दशहजार चराका प्रजातिमध्ये नेपालमा पाइने करिब ९०० प्रजातिका छन््।
विश्वमा अन्यत्र नपाइने दुई किसिमका चरा नेपालमा मात्र पाइन्छन््। सङ्कटापन्न अवस्थाका १४ किसिमका पक्षी नेपालमा पाइन्छन्् । त्यसमा नेपालमा पाइने ११ प्रजातिका लोप भइसकेका छन् भने २२ प्रजातिका संरक्षण सूचीमा परेका छन्। ४० प्रजातिका साइटिस सूचीमा सूचीकृत भएका चराहरू नेपालमा छन््। प्राणीजन्य विविधताका दृष्टिले अति दुर्लभ मानिने एकसिङ्गे गैँडा, बाघ, शुद्ध अर्ना, चराचुरुङ्गी, हिउँ चितुवा, रातो पाण्डालगायतका विभिन्न प्रजातिका प्राणी नेपालमा पाइन्छन्् ।
एकसिङ्गे गैँडाका लागि विश्वमै प्रसिद्ध मानिएको चितवन राष्ट्रिय निकुञ्ज, अर्नाका लागि कोशी टप्पु जीवजन्तु आरक्ष, रातो पाण्डाका लागि कञ्चनजङ्गा संरक्षण क्षेत्रलगायतका स्थलहरू महìवपूर्ण मानिन्छन्् । यहाँको हावापानी तथा वातावरणका कारण वन्यप्राणीको विचरण साँच्चै नै आनन्ददायी र मोहक मानिन्छ।
प्राणीजन्य विविधताका दृष्टिले सानो मुलुक नेपालभित्र तराईको समथर भूभागदेखि उच्च हिमाली भेगभित्र ससाना खोला, पहाड, समथर भूभाग, हिमाल, गल्छी, उपत्यका जस्ता भौगोलिक वातावरणको विविध परिस्थितिकीय प्रणालीका कारणले बहुसङ्ख्यक जीवजन्तुको प्रजातिको सङ्गमस्थल पनि बनेको हो ।
जैविक विविधताको उपयोगिता, सौन्दर्य, कौतुहल तथा अन्य कारणले मानव तथा वन्यजन्तुबीच आदिमकालदेखि अन्योन्याश्रति सम्बन्ध छ । वन्य प्राणीजन्य वस्तुहरू मानव जीवनको जीविकोपार्जनदेखि औषधिलगायत विभिन्न किसिमका प्रत्यक्ष, अप्रत्यक्ष फाइदा छन््। वन्यप्राणीका विभिन्न अङ्गबाट उत्पादित सामग्री मानव स्वास्थ्यका लागि अति उपयोगी छन्् भने यिनीहरूको छाला, सिङ जस्ता अङ्ग हाम्रा घर तथा बैठक सजाएर आकर्षक बनाउने हाम्रो चलन प्राणीसँग जोडिएको छ। यस्तै, विभिन्न प्राणीका अङ्ग तथा यिनीहरूबाट उत्पादित अति मूल्यवान र आकर्षक मानिन्छन्।
नेपालको विविधतायुक्त भौगोलिक वातावरण मौसमी विभिन्नताका कारण सदाबहार हिउँले भरिरहने हिमालय क्षेत्रदेखि तराईको अधिक तापमानयुक्त समथर भूभागमा रम्ने तथा विचरण गर्ने चिसो तथा तातोयुक्त वातावरणमा हुर्कने वन्य प्राणीका लागि स्वर्गस्थल मानिन्छ । विविधतायुक्त हावापानीले भरिएको प्राकृतिक वातावरणभित्र रमाउने वन्य प्राणीको बासस्थानको विनाश तथा बढ्दो चोरी सिकारीले अहिले कतिपय लोप भइसकेका छन्् भने कतिपय लोपोेन्मुख अवस्थातिर धकेलिन थालेका छन्् ।
विश्वमा करिब ५० लाख प्रकारका जीवजन्तु रहेको अनुमान छ। आदिमकालमा प्राणी तथा वनस्पति एउटै सूक्ष्म जीवबाट अस्तित्वमा आएको अनुमान छ, सँगसँगै भने होइन भन्ने यस क्षेत्रमा अनुसन्धानमा संलग्न वैज्ञानिकको तर्क छ । पृथ्वीमा अस्तित्वमा रहेका जीवको विकास हुन नै करिब तीन अर्ब वर्षभन्दा बढी समय लागेको र पृथ्वीको उत्पत्ति भने चार अर्ब ५० करोड वर्षअघि भएको इतिहास छ ।