काठमाडौँ, वैशाख ४ गते। विशाल राई 'ए'ले दुई गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले सोमबार बि्रटिस गोर्खा कप फुटबल प्रतियोगितामा छिमेकी क्लब रानीपोखरी कर्नर टिम -आरसीटी)लाई २-१ ले स्तब्ध पारेको छ।
खेल सुरु भएको तेस्रो र निर्धारित समय सकिन ५ मिनेट बाँकीछँदा गोल गरेर विशालले आरसीटीलाई निराश पारे। यस जितसँगै मच्छिन्द्रले क्वाटरफाइनल यात्रा तय गरेको छ। दीपक राई, कर्ण लिम्बू, विशाल राई 'बी'जस्ता पुरानै खेलाडीलाई यस सत्रमा टिममा पुनः भित्र्याएको मच्छिन्द्रले खेलको तेस्रो मिनेटमा नै गोल गरेको थियो। डिबक्समा बिना निगरानीमा रहेको समयमा प्राप्त बल चलाखीपूर्वक गोलपोस्टमा छिराएर विशालले मच्छिन्द्रलाई अग्रता दिलाए।
पूर्वार्द्धको खेलमा नियन्त्रण बनाए पनि मच्छिन्द्रले अग्रता दोब्बर भने पार्न सकेन। खेलको १५ र १६औँ मिनेटमा दीपक राईले लगातार आरसीटीका गोलरक्षक प्रेम तामाङसँगको एक्लो जम्काभेटमा गोल गर्ने मौका चुकाए। खेलको २६औँ मिनेटमा पनि विशालसमक्ष आरसीटीका गोलरक्षक प्रेममात्र बाधकका रूपमा थिए तर उनले निकै सहज मौका खेर फाले।
यसैगरी खेलको १८औँ मिनेटमा आरसीटीका युगलकिशोर राई पनि गोल नजिक पुगेका थिए। उनको शानदार प्रहार मच्छिन्द्रका गोलरक्षक दिनेश मगरले गर्दा मात्र विफल भएको थियो। उत्तरार्द्धको १९औँ मिनेटमा भने युगलले निराश पारेनन्। डिबक्समा बिना निगरानीमा रहेका युगलले गोल गरी खेल बराबरीमा ल्याए।
यद्यपि खेलको ८५औँ मिनेटमा दीपकको क्रस सदुपयोग गर्दै विशालले मच्छिन्द्रका समर्थकलाई खुसी बनाएर घर फर्काए। विशाल 'म्यान अफ द म्याच' पनि घोषित भए।