काठमाडौंको नयाँ सडकमा यही सोमबार भूत देखियो भनेर स्थानीयवासी र बटुवा चकित भए। एक्काइसौं शताब्दी, विज्ञानको चमत्कार, सञ्चारको युग, राजधानीका सचेतवासी भूतको प्रसङ्गमा दिनभर सडकमा उभिएर रमिते बने। नेपाली सञ्चारमाध्यम खासगरी टेलिभिजनमा ब्रेकिङ् न्यूज दिने होड पनि यसोहुनुका एक मुख्य कारण बन्यो। सोमबार दिउँसो केही टेलिभिजनहरूले नयाँ सडकमा भूत देखिएको समाचार प्रसारण गरेपछि त्यहाँको जनजीवन र यातायात प्रभावित भयो। मानिसमा एक प्रकारको कौतुहल र आतङ्क देखिन्थ्यो। विद्युतीय माध्यमको प्रसारण गति र प्रभाव बढी हुने भएकाले यस्ता घटनाको समाचार बनाँउदा ती माध्यमले बढी होस पुर्याउनु पर्नेमा त्यसो हुन सकेन। त्यसो त नेपालमा मात्र होइन छिटो र विश्वसनीय समाचारका सन्दर्भमा विश्वव्यपीरूपमा विवाद हुने गरेका र छिटो हुने होडमा विश्वसनीयता गुमाउनु हुँदैन भन्ने निष्कर्ष निकालिने गरिन्छ। तर घटनाहरू दोहरिन्छन्। भूत बा दैवी शक्तिमा विश्वास गर्नु वा नगर्नु सामाजिक संस्कृति हो। बेलायती मानवशास्त्री इ.बी टायलरले मानिसले समाजको सदस्य हुनुको नाताले उपार्जन गरेका मूल्य, मान्यता, कला वा विश्वासलाई संस्कृति भनेका छन्। त्यसैले भूत वा देवता छन् कि छैनन् भनेर विचार लाद्नु अर्कोको विश्वासमाथि प्रहार गर्नु हो यस्तो काम पत्रकारिताले त गर्नै हुँदैन। यस्ता मान्यतामा विश्वास गर्नु/नगर्नुभन्दा पनि समुदायको आस्थामाथि निरपेक्ष रहेर समाचार सङ्कलन गर्नुपर्नेमा कहिले केही हामी चुक्ने गर्दछौं। विषयको संवेदनशीलता र तीब्रताको होडलाई सन्तुलन गर्न सकिएन भने पत्रकारिताको विश्वसनीयता गुम्नेछ। छिटो समाचार दिने होडमा केही समयअघि चाबहिलको सुन पसलमा भएको आक्रमणमा हाम्रा केही विद्युतीय माध्यमले दुईजनाको मृत्यु भयो भन्दै मृतक भनिएकाहरूको नामसमेत सार्वजनिक गरे त्यसको केही समयपछि दुईमध्ये एकको गम्भीर अवस्थामा अस्पतालमा उपचार हुँदैछ भने र केही समयपछि उनको अवस्था सामान्य छ भनियो। छिटो समाचार दिने प्रतिस्पर्धामा समाचार लेखनका आधारभूत छ "क"को सिद्धान्तलाई चावहिल वा न्यूरोडका घटनाको समाचार सङ्कलन गर्ने पत्रकारले ध्यान दिन सकेनन्। समचार संकलन गरिरहेका पत्रकारसमेत मूतको आक्रमणमा घाइते भए भनेर खवर प्रसारण भएकाप्रति स्थलगत समाचार सङ्कलन गरिरहेका पत्रकार स्वयंले आश्चर्य प्रकट गरे। त्यसो भए त्यस्तो समाचार कसले तयार गर्यो त ? भन्ने प्रश्न गम्भीर छ।
समाचार लेख्दा कतिपय अवस्थामा पीडितको पहिचान दिइनुले पीडितलाई झन् पीडित बनाउन सक्नेतर्फ पत्रकारहरू बढी होसियार हुनुपर्दछ। भएगरेका सबै घटनाहरूलाई त्यसैले समाचार बनाउनु हुँदैन भन्ने मानसिकताले विष खाएर मृत्य भएको समाचारलाई काफी मान्न सक्दछ तर समाचारलाई स्पष्ट वा धेरै दिने नाममा विषको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने पक्षलाई समाचार लेखन वा सम्पादनमा ध्यान दिनुनै पर्दछ। नयाँ सडकमा भूत प्रसङ्गको समाचार लेख्दा त्यसबाट घरधनी वा छिमेकीलाई प्रताडना पुग्यो भने समाजलाई सुसूचित गर्ने काममा पत्रकारिताको मूल्याङ्कन कसरी हुन सक्दछ ? समाचर भनेको साउती, गफ, हल्ला र अफवाह होइन यद्यपि यिनीहरू समाचारका स्रोत बन्न सक्दछन्। परीक्षण गरिएर सत्यसथ्यको मापन पछिमात्र कुनै पनि यस्ता "अरे" समाचार बन्न सक्दछन्। त्यसैले दोबाटोमा उभिएर कराउने मानसिक सन्तुलन गुमाएको व्यक्तिले समाजलाई सूचित गर्नु र पत्रकारिताले गर्ने सुसूचितमा धेेरै अन्तर रहनुपर्दछ। समाचारलाई रङ्गीन र विकाउ बनाउने नाममा असमाचारलाई पनि समाचार बनाउने र साना समाचारलाई पनि ठूला समाचार बनाउने गर्दा जुम्लामा भोकमरी लागेको भन्दा चलचित्रको कुनै नायकले कपाल पालेको वा फालेको घटना समाचार बन्ने गरेका छन्। यस्ता विषयलाई कति महत्त्व दिने कुरामा हामीले विचार पुर्याउनुपर्ने हुन्छ। भूतको प्रसङ्गलाई सनसनीपूर्ण समाचार बनाउन खोज्दा भूतले भन्दा सञ्चारले आतङ्क मचाउन सक्छ भन्नेमा हामी सञ्चारकर्मी बढी होसियार हुनुपर्दछ। त्र