काठमाडौँ, वैशाख ५ गते। क्षेत्र नं. २ वीरगन्ज सोमबार क्षेत्र नं. १ विराटनगरलाई सात विकेटले हराएर वाइवाई यु-१९ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आयोजक क्षेत्र नं. ३ काठमाडौँले पनि क्षेत्र नं. ८ पोखरालाई चार विकेटले पराजित गर्यो। तर वीरगन्जको जितले काठमाडौँ उपाधि भिडन्तमा पुग्न सकेन।
समूह 'बी'बाट वीरगन्ज तीनै खेल जिती शतप्रतिशत छ अङ्क हासिल गरी उपाधि भिडन्तमा पुगेको हो। काठमाडौँ तीन खेलमा दुई जितपछि उपविजेतामै चित्त बुझाउन बाध्य भयो। समूह 'बी'मा विराटनगर तेस्रो र पोखरा अन्तिम स्थानमा रहे। पोखराले तीनवटै खेलमा पराजय बेहोरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१३ रनको राम्रो योगफल तयार पारेको थियो। प्रारम्भिक ब्याट्सम्यान विजय घलानले अविजित ७२ रन बनाएपछि वीरगन्जले ४५.४ ओभरमा तीन विकेटको क्षतिमा २१५ रन बनाई लक्ष्य हासिल गर्यो।
हासिम अन्सारीसँग मिलेर विजयले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेपछि वीरगन्जको जित पक्का भएको थियो। अन्सारी ४४ बलमा आठ चौकासहित ४९ रन बनाएपछि आउट भए। वीरगन्जका लागि कप्तान शिव तण्डुकार
-२५ रन) र सुरज कुर्मी -४३ रन)ले पनि उपयोगी पालि खेले। यसअघि विराटनगरका लागि सिद्धान्त लोहनीले अविजित ५२ रन बनाएका थिए।
पुल्चोक इन्जिनियरिङ क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा पहिले ब्याटिङ गरेको पोखरा ४३.४ ओभरमा १३७ रनमा अलआउट भएको थियो। आकाश थापाले ४१ र अमित श्रेष्ठले ४० रनको पालि खेले पनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन नसक्दा पोखरा सामान्य स्कोरमा समेटियो।
काठमाडौँले सहज लक्ष्य २५.१ ओभरमा छ विकेटको क्षतिमा १३८ रन बनाई हासिल गर्यो। पोखराले ४८ रनमा चार विकेट निकाले पनि पाँचौँ क्रमका ब्याट्सम्यान पवन श्रेष्ठले ५६ बलमा अविजित ५४ रन बनाएपछि काठमाडौँले सहजै जित हासिल गर्यो। पवन 'म्यान अफ द म्याच' पनि घोषित भए। पोखराका लागि सुशील कँडेलले सर्वाधिक तीन विकेट लिए।