पोर्ट अफ स्पेन, वैशाख ६ गते। अफ स्पिनर नाथन लियोनले चामत्कारिक स्पेलमा १६ रनमा पाँच विकेट लिएपछि वेस्टइन्डिजविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन भ्रमणकारी अस्ट्रेलियाले आˆनो दबाब कायम राखेको छ।
टेस्ट क्रिकेटमा पदार्पण खेलमा पाँच विकेट लिएपछि लियोनले एक पालिमा सोही गौरव हासिल गरेको यो पहिलोपटक हो। वेस्टइन्डिजले बुधबार पहिलो पालिमा नौ विकेटको क्षतिमा २५२ रन बनायो। घरेलु टिम अझै ५९ रनले पछाडि छ। अस्ट्रेलियाले पहिलो पालिमा ३११ रन बनाएको थियो।
शिवनारायण चन्दरपल र नरसिङ डियोनाराइनले ४४ ओभरमा १३० रनको साझेदारी निर्वाह गरेपछि वेस्टइन्डिज अग्रतातर्फ अग्रसर थियो। यसअघि चन्दरपलले डारेन ब्राभो -३८ रन)सँग मिलेर पनि चौथो विकेटका लागि ६२ रन जोडेका थिए। चन्दरपल ९४ रन बनाएर आउट भए। डायोनाराइनले पनि ५५ रनको अर्धशतकीय पालि खेले।
तर कप्तान माइकल क्लार्कले लियोनलाई पुनः बल थमाएपछि अस्ट्रेलिया खेलमा फर्कियो। लियोनले नयाँ स्पेलको पहिलो बलमा नै डियोनाराइनलाई आउट गरे। त्यसपछि लियोनले चन्दरपललाई पनि एलबीडब्लूको धरापमा पारी शतक बनाउनबाट वञ्चित गरे। क्रिजमा जमेका यी दुई ब्याट्सम्यानलाई पवेलियन फर्काएपछि उच्च मनोबलमा देखिएको लियोनले पुछारका डारेन सामी सेन सिलिङफोर्ड र केमर रोखको पनि सिकार गरे।