काठमाडाँै, वैशाख ६ गते। हिमालयन सेर्पा क्लब बुधबार जावलाखेल युथ क्लबलाई १-० ले हराएर बि्रटिस गोर्खा कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने छैटौँ क्लब बनेको छ।
हिमालयन सेर्पाको भेट अन्तिम आठमा मच्छिन्द्र क्लबसँग वैशाख ११ गते हुनेछ। 'म्यान अफ द म्याच' दिनेश कार्कीले खेलको ६४औँ मिनेटमा गरेको गोल नै हिमालयनलाई अघिल्लो चरणमा पुग्न पर्याप्त बनेको थियो। उत्तरार्द्धको १९औँ मिनेटमा दिनेशले पासाङको पासमा गोल गरे। होचा कदका मिडफिल्डर दिनेशले जावलाखेलका गोलरक्षक मीन बस्नेतसँगको एक्लो जम्काभेटमा बल गोलपोस्टमा छिराएका हुन्।
खेलको सुरुवातमा जावलाखेलमाथि हिमालयन सेर्पा हावी बनेको थियो। खेलको चौथो मिनेटमा दिनेशले डिबक्स नजिकबाट प्रहार गरेको बल जावलाखेलका गोलरक्षक मीन बस्नेतले 'पन्च' गर्दै गोल हुने सम्भावना टारे। खेलको १२औँ मिनेटमा जावलाखेलका प्रवीण कार्कीले करिब ३५ गजबाट पि|mकिकमा प्रहार गरेको बल पनि गोलपोस्टमा लागेर फर्केको थियो।
उत्तरार्द्धमा जावलाखेलले सुधारिएको प्रदर्शन गर्यो। खेलेको ५२औँ मिनेटमा जङ्बु सेर्पाको सटीक पासमा प्रवीणले विपक्षी गोलरक्षकसँग एक्लो जम्काभेटमा गोल गर्ने मौका पाएका थिए तर उनी नराम्ररी चुके। सो मौका गुमाएको ३ मिनेटपछि नै प्रवीणले सानो डिबक्सबाट पनि बललाई सही दिशा दिन सकेनन्। थि्रस्टारबाट जावलाखेल भित्रिएका प्रदीप महर्जनले पनि गोल गर्ने प्रयास गरेका थिए। खेल सकिन १० मिनेट बाँकीछँदा प्रदीपले करिब २५ गजबाट पि|mकिकमा प्रहार गरेको बल गोलपोस्टमा ठोक्किएको थियो। यसरी जावलाखेलका दुई प्रहारमा गोलपोस्ट बाधक हुँदा पनि हिमालयन सेर्पालाई फाइदा पुग्यो।
हिमालयनका प्रशिक्षक नवल गुरुङ जितपछि पनि सन्तुष्ट देखिएन्न। खेलाडीले प्राविधिक रूपमा राम्रो खेल्न सकेनन्, यस्तै प्रदर्शन रहेमा सेमिफाइनलमा पुग्न सक्दैनौँ, सायद अनुभवको कमीले यस्तो भएको हुनसक्छ -प्रशिक्षक गुरुङले बताए। जावलाखेलका प्रशिक्षक राजाराम कार्कीले हारको दोष टिम सेट नहुनुलाई दिए। निश्चित गोल हुने खालका प्रहार पनि सफल नभएपछि हामी दबाबमा आयौँ -प्रशिक्षक कार्कीले भने।