काठमाडौँ, वैशाख ८ गते। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताले अपनत्व महसुस गर्नेगरी आगामी जेठ १४ गतेभित्रै सङ्घीय गणतन्त्र नेपालको संविधान निर्माण हुने बताउनुभएको छ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल टेलिकम केन्द्रीय समितिको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उहाँले जनयुद्ध र जनआन्दोलनलगायत विभिन्न आन्दोलनहरूले उठाएका मागहरूलाई नयाँ संविधानले सम्बोधन गर्ने बताउनुभयो।
शान्तिप्रक्रिया र संविधान लेखन एकआपसमा अन्तर-सम्बन्धित विषय भएको चर्चा गर्दै श्री दाहालले शान्तिप्रक्रिया अगाडि नबढिकन संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न सक्दैन भन्न्ो कुरा अरू राजनीतिक दलहरूले बारम्बार उठाएकाले सेना समायोजनको सम्बन्धमा आफूले साहसिक निर्णय गरेर प्रक्रिया अगाडि बढाएको बताउनुभयो। आफूले सेना समायोजनको कामलाई जोखिम मोलेरै टुङ्ग्याएको भए पनि संविधान निर्माण होला कि नहोला भन्ने आशङ्का कायमै रहेकाले सबै जनताले संविधान निर्माणमा दबाब दिनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो।