काठमाडौँ, वैशाख ९ गते। नेपाल भ्रमणमा रहेका भारतीय नेताहरूले तोकिएकै मितिमा नयाँ संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ।
रिपोर्टर्स क्लबद्वारा शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँहरूले नेपालको शान्ति, लोकतान्त्रिक संविधान, विकास र समृद्धिका लागि एउटा असल छिमेकीका रूपमा भारतले सदैव सकारात्मक दृष्टिकोण राख्ने गरेको बताउनुभयो।
कार्यक्रममा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख एवं प्रवक्ता विजय जोलीले नेपालको शान्तिप्रक्रिया अन्तिम चरणमा रहेको चर्चा गर्दै जेठ १४ भित्रै नयाँ संविधान जारी हुने विश्वास
व्यक्त गर्नुभयो।
"नेपालमा नयाँ संविधान जारी हुने समय निकट आइसकेको छ, त्यसका लागि राजनीतिक दलहरू गम्भीर भएर लागेको देख्दा निकै खुसी लाग्यो। चाँडै शान्तिप्रक्रिया सम्पन्न हुने आशा लिएका छौँ", जोलीले भन्नुभयो।
नेपालमा लोकतान्त्रिक प्रक्रिया सुदृढ भए भारत र भारतीय जनता खुसी हुने तर्क प्रस्तुत गर्दै जोलीले नेपाल र भारतबीचको सम्बन्ध राम्रो भएकाले धेरै नेपालीका लागि भारत रोजगारको केन्द्र भएको बताउनुभयो।
नेपालका सबै राजनीतिक दल मिल्नुको विकल्प नरहेको भन्दै शान्ति र संविधानपछि नेपालमा विकासले गति लिनेमा नेता जोलीले विश्वास व्यक्त गर्नुभयो।
भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव तारिक अनवरले नेपालमा लोकतान्त्रिक संविधान निर्माण होस् भन्ने पक्षमा भारत र भारतीय जनता रहेको बताउनुभयो।
नेपालको शान्ति, स्थिरता, विकास, जनताको सुरक्षा, धर्मनिरपेक्षताका पक्षमा भारत रहेको बताउँदै महासचिव अनवरले शान्तिप्रक्रिया टुङ्गिएर संविधान जारी भएपछि भारतले नेपालको विकासमा विशेष सहयोग घोषणा गर्ने बताउनुभयो।
भारतीय सत्तारूढ दल काँग्रेस आईका प्रवक्ता रसिद अल्वीले भारत जहिले पनि नेपालको उन्नति र समृद्धिको पक्षमा रहेको बताउनुभयो।
"नयाँ संविधान जारी भएपछि नेपालमा स्थिरता र विकास कायम हुने निश्चित छ", प्रवक्ता अल्वीले भन्नुभयो।
नेपालमा शान्ति र संविधान निर्माण भएपछि नेपालको विकासका लागि भारतले सहयोगमा समेत वृद्धि गर्नेछ", अल्वीले भन्नुभयो।
कस्तो खालको सङ्घीय संरचना निर्माण गर्ने भन्ने विषय नेपाल र नेपालीको भएको तर्क उहाँले प्रस्तुत गर्नुभयो।
सांसद तथा अभिनेत्री शताब्दी रायले नेपालको विकासमा भारतले हरेक क्षणमा सहयोग गर्दै आइरहेको बताउनुभयो।