काठमाडौँ, वैशाख ९ गते। पुँजी बजार उचाइतिर अग्रसर भएपछि लगानीकर्तामा उत्साह छाएको छ। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा दोहोरो अङ्कले वृद्धि भई अन्तिम दिन ३५४.७८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्सेमा लगातार सुधार देखिने क्रमलाई निरन्तरता दिँदै यस साता पनि १७.४२ अङ्कको वृद्धि भएको हो।
यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय १५ कम्पनीहरूको कारोबार भएको छ, जसअनुसार ६२२२ कारोबारबाट रु. ३५ करोड नौ ल्ााख ७३ हजार बराबरका ११ लाख ३४ हजार १०३ कित्ता सेयर खरिद-बिक्री भएका छन्।
कारोबारको हिसाबले पनि यस साता भएको कारोबार औषत कारोबारभन्दा उच्च भएको र नेप्सेमासमेत सुधार देखिएकाले पनि आगामी दिनहरूमा पनि नेप्सेमा सुधार आउने सङ्केत देखिएको विज्ञहरू बताउँछन्।
गत साता एक सय १५ कम्पनीहरूको कारोबार भएको थियो, जसअनुसार चार हजार ९७ कारोबारबाट रु. १२ करोड ५० ल्ााख २१ हजार रुपियाँ बराबरका पाँच लाख ४५ हजार ५४२ कित्ता सेयरहरू खरिद-बिक्री भएका थिए।
कारोबार रकममा गत साताको तुलनामा १८०.७३ प्रतिशतले वृद्धि भएको हो। कुल कारोबारमध्ये 'क' वर्गका कम्पनीहरूको मात्र २६ करोड २२ लाख रुपियाँ बराबरको कारोबार भएको छ। यो कुल कारोबारको ७४.७२ प्रतिशत हो।
'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ४.८४ अङ्कले वृद्धि भई ८९.३९ अङ्कमा आइपुगेको छ।
यस साता कारोबार रकम, सेयर कित्ता तथा कारोबार सङ्ख्यासहित तिनै स्थानमा बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रहेको छ। जसअनुसार कारोबार रकम रु. आठ करोड ६७ लाख, कारोबार भएको सेयर एक लाख ६६ हजार छ सय ४६ कित्ता तथा कारोबार सङ्ख्या आठ सय २४ वटा कारो्बार रहेको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन। यस साता सूचीकरणतर्फ एनडीइपी डेभलपमेन्ट बैङ्कको बोनस सेयर सूचीकृत भएको जनाइएको छ।