काठमाडौँ, वैशाख १० गते। राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले खेलाडी कल्याणकारी कोषको आइतबारदेखि शुभारम्भ गरेको छ।
राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री कमला रोकाले पानसमा दीप प्रज्ज्वलन गरी कोषको विधिवत् रूपमा उद्घाटन गर्नुभयो। कोषलाई प्रभावकारी एवम् संस्थागत ढङ्गले अगाडि बढाउन नियमावलीसमेत तयार गरिएको छ।
शुभारम्भको पहिलो दिन राखेपका तर्फबाट मन्त्री रोकाले कोषमा १० लाख रुपियाँ प्रदान गर्नुभयो। यसैगरी विभिन्न राष्ट्रिय खेल सङ्घसंस्था, खेलाडी, प्रशिक्षक र व्यक्तिले पनि कोषमा आर्थिक सहयोग प्रदान गरे। केहीले आगामी दिनमा सहयोग प्रदान गर्ने घोषणा गरे। राखेपको दस लाखसहित सुरुको दिन जम्मा १५ लाख ९६ हजार तीन सय ८७ रुपियाँ सङ्कलन भएको छ। यसअघि कोषमा एक करोड १० लाख रुपियाँ थियो।
राखेपले खेलाडीलाई अब उप्रान्त प्रदान गर्ने खेलाडी परिचयपत्र पनि सार्वजनिक गरिएको थियो। परिचयपत्रलाई प्लाटिनम, गोल्ड र सिल्भर गरी तीन भागमा वर्गीकरण गरिएको छ।
वैकुण्ठ मानन्धर, जितबहादुर केसी, सङ्गिना वैद्य, दीपक विष्ट, दीपक श्रेष्ठ तथा दीपक महर्जनलाई प्लाटिनम कार्ड प्रदान गरी मन्त्री रोकाले परिचयपत्र वितरणको सुरुवात गरेको छ।
खेलाडीबाहेक अन्यले यो कोषको प्रयोग गर्न पाउनेछैन, यस कोषले खेलाडीको उत्साह वृद्धि गर्न महìवपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएकी छु -मन्त्री रोकाले भन्नुभयो।