काठमाडौँ, वैशाख १० गते। नाबालक, गृहिणी र घरेलु कामदारको नाममा खोलिएका बैङ्क खाताहरूमा करोडौँ रुपियाँको कारोबार हुने गरेको छ। नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी एकाइका प्रमुख धर्मराज सापकोटाद्वारा सोमबार राजधानीमा सम्पन्न सम्पत्ति शुद्धीकरणसम्बन्धी छलफल कार्यक्रममा यो जानकारी दिनुभएको हो।
नाबालक, गृहिणी र घरेलु कामदारले यत्तिको धेरै पैसा कहाँबाट ल्याउँछन् भनी प्रश्न गर्दै यस्तो पैसालाई सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धानको दायरामा ल्याउन सकिने बताउनुभयो।
जग्गा किनबेचका क्रममा समेत कर छली भइरहेको अवगत गराउँदै करोबार बजार मूल्यमा गर्ने तर पास चाहिँ न्यूनतम मूल्यमा गर्ने गरिएको पाइएको उहाँले स्पष्ट पार्नुभयो। जग्गा बिक्री गर्ने व्यक्तिको खातामा जम्मा हुने गरेको रकमले समेत सो कुराको पुष्टि गरेको बताउँदै यस्तो घटना पाँच हजारभन्दा बढी रहेको पनि उहाँले जानकारी दिनुभयो। उहाँले कारोबार गरेकै मूल्यमा पास गर्न पनि व्यवसायीलाई अनुरोध गनुभयो।
आर्थिक कारोबारलाई पारदर्शी गराउन नै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन आएकाले सोही अनुसार कारोबारलाई पारदर्शी गर्न पनि व्यवसायीलाई अनुरोध गर्नुभयो।
कार्यक्रममा बोल्दै सम्पतत्ति शुद्धीकरण विभागका प्रमुख मुक्तिनाथ पौडेलले व्यक्तिगत रूपमा खोलिएका बैङ्क खाताबाट नै व्यावसायिक कारोबार हुँदै आएको बताउँदै कम्पनीकै नाममा व्यावसायिक कारोबार गर्न पनि उहाँले अनुरोध गर्नुभयो।
विदेशीले नेपालमा लगानी गरी कमाएको पैसा बाहिर लैजान पाए पनि नेपाली नागरिकले विदेशमा लगेर पैसा राख्न नपाउने स्पष्ट पार्दै यदि कसैले त्यसरी राखेको थाहा भएमा उसलाई कारबाही हुने उहाँले प्रस्ट पार्नुभयो।
उहाँले व्यवसायीलाई बैङ्क खाता अपडेट गर्न, तिरेको कर घोषणा गर्न वास्तविक कारोबारकै आधारमा कर तिर्ने बानी बसाल्न पनि व्यवसायीलाई अनुरोध गर्नुभयो।
आन्तरिक राजस्व अनुसन्धान विभागका निर्देशक शान्तबहादुर श्रेष्ठले सम्पत्ति घोषणा गर्न दिँदा क कसलाई दिने भनी समस्या रहेकाले यो सजिलो कार्य नभएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा बोल्दै उद्योग परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले उद्योगी व्यवसायीको पृष्ठभूमिलाई ध्यानमा रखेर मात्र विभागले सोधखोज गर्न सुझाव दिनुभयो। लामो व्यावसायिक पृष्ठभूमि भएका, नियमित कर तिरिरहेका, बैङ्क र सरकारी निकायमा पहिचान भएका व्यक्तिलाई सोधखोज गरी उनीहरूको मनोबल गिर्न सक्ने भएकाले विभागले यसतर्फ पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।