काठमाडौँ, वैशाख १२ गते। नेपाल स्टक एक्सचेन्जमा मङ्गलबार भएको कारोबारमा नेप्से १९.२५ अङ्कको बढोत्तरीसहित ३८८.३४ को बिन्दुमा पुगेको छ।
विगत ६ वर्षदेखि राजनीतिक सङ्क्रमण झेल्दै आएको र साढे तीन वर्षदेखि नेप्सेमा देखिएको गिरावटलाई चिर्दै शान्ति प्रक्रियाको प्रमुख अप्ठ्यारो भनिएको सेना समायोजनको विषयमा सहमतिपछि बढ्न थालेको सेयर बजारले अझै निरन्तरता पाइरहेको छ।
सेना समायोजनको प्रक्रिया अघि बढेको र जेठ १४ भित्रमा संविधान बन्ने कुरा पनि प्रायः सुनिश्चित बनेको अवस्थामा हाल सेयर बजारमा भएको बढोत्तरी केही दिनका लागि मात्र हो, ठूला लगानीकर्ताको चलखेल हो, नेप्सेमा पुनः गिरावट आउने अनुमान सही नभएको लगानीकर्ताको ठम्याइ छ।
नेप्सेमा हाल आएको सुधार साढे चार सयसम्मको हाराहारीमा पुग्ने र संविधान जारी भए पाँच सयको नजिकसम्मको नेप्सेलाई अर्थतन्त्रका परिसूचकाङ्कहरूले सहयोग गर्ने विज्ञहरूको भनाइ छ भने सकारात्मक दिशातर्फ जाँदै गरेको देखिएको छ।
नेप्सेमा मङ्गलबार कुल ६८ कम्पनीको छ सय ६ कारोबारबाट एक लाख ३४ हजार ८८० कित्ता सेयरको कारोबार भई पाँच करोड ३६ लाख ३१ हजार ४३१ रुपियाँ बराबरको सेयर खरिद बिक्री भएका छन्।
नेप्समो विगतमा औषत रु. दुई करोडको कारोबार हुँदै आएकोमा मङ्गलबार भने रु. पाँच करोडभन्दा बढीको कारोबार हुनु र त्यसमा पनि कुनै एक कम्पनीको ठूलो कित्ता कारोबार नभएर सबै कम्पनीको धेरै कारोबार सम्भव हुनुले बजारमा सेयरको माग अझै उच्च रहेको देखिएको छ। यसले आगामी दिनमा बजार अझै माथि जानसक्ने कुरालाई बल पुग्ने देखिएको छ।
मङ्गलबारको कारोबारमा कमाउने मुख्य कम्पनीहरूमा स्टयाण्र्डड चार्टर बैङ्क १८०, नेपाल एसबीआई बैङ्क ५९, एनआईबी बैङ्क ४९, एनआईसी बैङ्क ५२, नबिल बैङ्क १२०, एभरेष्ट बैङ्क ८९, चिलिमे हाइड्रो पावर ६१, बैङ्क अफ काठमाडौँ ५७ रुपियाँ प्रमुख रहेका छन्।
नेप्सेमा गुमाउने कम्पनीहरू कम रहे पनि विशालबजार कम्पनी लिमिटेडको सेयरमा ८५ रुपियाँको गिरावट देखिएको छ भने सानिमा बैङ्कको प्रमोटर सेयरमा रु. एक सय ११ ले घटेको छ।
नेप्सेमा बढोत्तरी कायम हुने क्रममा मुख्य रूपमा क वर्गका वाणिज्य बैङ्क, बीमा प्रमुख रहे पनि बजारमा आएको उछालका कारण वित्तीय कम्पनीका सेयरहरूमा पनि सामान्य बढोत्तरी देखिन थालेको छ।