काठमाडौँ, वैशाख १२ गते। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन कृषि विकास बैङ्क लिमिटेड, केन्द्रीय समितिले गत चैत २० देखि २२ गतेसम्म सञ्चालित दोस्रो महाधिवेशनमा पराजित पक्षबाट भइरहेका समानान्तर गतिविधिको निन्दा र भत्र्सना गरेको छ।
सङ्गठनले उक्त महाधिवेशनको निर्वाचनमा पराजित पक्षले हारलाई स्वीकार गर्न नसकी मातृ पार्टी, यस कर्मचारी सङ्गठन र ट्रेड युनियन आन्दोलनको मर्म र भावना विपरीतको काम गर्दै आएको भन्दै अदृश्य शक्तिको आडमा फुट मानसिकता र विसर्जनवादी चिन्तनमा लागेकाहरूको पछि नलाग्न आफ्ना सबै सदस्यलाई अपिल गरेको छ।
सङ्गठनले जारी गरेको विज्ञप्तिमा कर्मचारीको भावनाको उचित कदर गर्दै गलत प्रवृत्तिलाई निरुत्साहित गर्न तथा सङ्गठनले सञ्चालन गर्ने क्रियाकलापमा सक्रिय सहभागिता जनाई क्रान्तिकारी छवि कायम राख्न आग्रह गरिएको छ।
साथै विज्ञप्तिमा महाधिवेशन सम्पन्न गर्ने क्रममा आर्थिक कारोबारको जिम्मेवारी लिएकाहरूलाई आफ्नो हिसाबकिताब सङ्गठनको कार्यालयमा बुझाउन, सुम्पिएको जिम्मेवारी पूर्णरूपमा पालन गर्न सम्बन्धित व्यक्तिहरूलाई आग्रह गर्दै अन्यथा ट्रेड युनियन ऐन अनुसार कारबाही हुने स्पष्ट
पारेको छ।