काठमाडौँ, वैशाख १२ गते। केन्द्रीय गलैँचा उद्योग सङ्घ र केन्द्रीय गलैँचा उत्पादक सङ्घबीच सोमबारदेखि एकीकरण भएको छ।
एकीकरणपछि केन्द्रीय गलैँचा उद्योग सङ्घ बनेको संस्थाको लागि दुबै सङ्घका पदाधिकारीहरूबाट लङ्कमान रोकाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
सङ्घको उपाध्यक्षमा शम्भु शेर्पा र हरिबहादुर कार्की, महासचिवमा निमा लामा, सचिवमा हरिबहादुर ठकुरी, कोषाध्यक्षमा धनसिंह शेर्पालगायत १५ जना सदस्य रहनुभएको छ।
घोषित तदर्थ कार्यसमितिले तीनदेखि छ महिनाभित्र संस्थाका साधारण सदस्यहरूको सदस्यतालाई अध्यावधी गरी निष्पक्ष रूपले उद्यमी व्यवसायीहरूको हक हित संरक्षण हुने गरी संस्थाको निर्वाचन गरिने सोमबार आयोजित कार्यक्रममा जानकारी गराइयो।
सन् १९७१/७२ देखि सन् १९९३/९४ सम्म ३३ लाख २५ हजार वर्गमिटरसम्म निकासी भएको गलैँचाको निकासी विविध समस्याको कारणले क्रमिक रूपमा घट्दै गई हाल सन् २०१०/११ मा आएर आठ लाख ३३ हजार ४०९ वर्गमिटरमा मात्र निर्यात सीमित हुन पुगेको छ।
गलैँचा उद्योग क्षेत्र रोजगारमूलक उद्योग भएको हुनाले यस क्षेत्रमा काम गर्ने र जिविकोपार्जन गर्ने मजदुर वर्ग अहिले पनि एक लाखभन्दा बढीको सङ्ख्यामा रहेको सङ्घले जनाएको छ।