काठमाडौँ, वैशाख १२ गते। क्षेत्र नं ६ बैतडी मङ्गलबार रोमाञ्चक खेलमा गत विजेता क्षेत्र नं ४ भैरहवालाई दुई विकेटले हराएर अनपेक्षित रूपमा वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। बैतडीले क्षेत्र नं २ वीरगन्जविरुद्ध उपाधि भिडन्त गर्नेछ।
समूह ए विजेता बनी फाइनलमा पुग्न बैतडीलाई पछिल्ला दुई खेलमा अपराजित तथा उपाधि रक्षा गर्ने अभियानमा रहेको भैरहवालाई हराउनु पर्ने मात्र होइन क्षेत्र नं ५ नेपालगन्ज र क्षेत्र नं ७ जनकपुरबीचको खेलमा पनि भर पर्नुपर्ने स्थिति थियो। जनकपुरले मङ्गलबार भएको अर्को खेलमा नेपालगन्जलाई ६६ रनले हरायो।
आजका नतिजापछि समूह ए मा बैतडी, भैरहवा र जनकपुरले समान चार अङ्क बनाएका थिए। बैतडीले राम्रो रन औसतको आधारमा शीर्ष स्थान बनायो भने भैरहवा दोस्रो र जनकपुर तेस्रो स्थानमा थन्किए।
त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्ने भैरहवालाई ३०औँ ओभरमा ८३ रनमा अलआउट गरेपछि बैतडीको फाइनल पुग्ने सपना ब्युँतिएको थियो। विनोद लामाले नौ ओभरमा मात्र नौ रन खर्ची पाँच विकेट लिएर भैरहवाको पालि धराशायी पारे। बैतडीका लागि यज्ञमान कुमाल र दीपेन्द्र ऐरले पनि दुई/दुई विकेट लिएर भैरहवाका ब्याट्सम्यानलाई क्रिजमा टिक्न दिएनन्। भैरहवाका लागि सविनरत्न शाक्यले बनाएको सर्वाधिक रन पनि १५ मात्र थियो।
त्यसपछि बैतडीले २७.२ ओभरमा आठ विकेटको क्षतिमा ८७ रन बनाई जित मात्र हासिल गरेन, रन औसतमा पनि सुधार गर्यो।
भैरहवाका इखलाख अहमद वार्सीले चार विकेट लिएर आप\mनो टिमलाई जिताउन भरमग्दुर प्रयास गरे पनि लक्ष्य सानो हुँदा बैतडी निराश हुनुपरेन। बैतडीका लागि सन्तोष भट्टले सर्वाधिक २४ रन बनाए।
पुल्चोकस्थिति इन्जिनियरिङ क्रिकेट मैदानमा जनकपुरले ३१.३ ओभरमा अलआउट हुँदै १५५ रनको योगफल तयार पारेको थियो। जवाफमा नेपालगन्ज २३.५ ओभरमा ८९ रनमा अलआउट भयो। म्यान अफ दि म्याच मुकेश झाले ५.५ ओभरमा १४ रन खर्ची पाँच ब्याट्सम्यानलाई आउट गरेपछि पहिलो जित हात पार्ने नेपालगन्जको सपना पूरा भएन। नेपालगन्ज तीनवटै खेलमा पराजित भई घर फर्केको छ।