अमेरिकाका लागि अफगान युद्ध भालुको कन्पट साबित भएको छ। सेना फिर्ताको तयारी गरिरहँदा तालिवानी विद्रोहीले राजधानी काबुल र तीनवटा प्रान्तमा भीषण आक्रमण गरेपछि १८ घण्टासम्म भएको पछिल्लो भिडन्तले काबुल हल्लेको छ भने गएको दश वर्षदेखि अफगान सुरक्षाको ठेक्का लिएको अमेरिकाका लागि थप चुनौती साथै नैतिक प्रश्न खडा भएको छ। भिडन्तपछि त्यहाँको जनजीवन अत्यन्तै आक्रान्त र अशान्त बनेको छ। भिडन्तका क्रममा सुरक्षाकर्मी, विद्रोही र सर्वसाधारण गरी ५१ जनाको ज्यान गएको छ भने ६५ भन्दा बढी घाइते भएका छन्। भौतिक संरचनामा व्यापक क्षति पनि भएको छ। १८ घण्टे युद्धलगत्तै तालिवान विद्रोहीले ठूलो नरसंहार गर्न काबुलमा विस्फोट गराउने तयारी अवस्थामा राखेको १० टन विस्फोटक पदार्थ बरामदको घटनाले त्यहाँको जनजीवन झन् त्रसित बनेको छ। पछिल्ला घटनाले अफगानिस्तानमा युद्ध लडेर शान्ति र सुख ल्याउन सकिँदैन भन्ने कुरा पुनः पुष्टि भएको छ। सार्वभौम मुलुक अफगानिस्तानमाथि गरिएको अमेरिकी नेतृत्वको सैनिक कारबाही गलत भएको कुरा घटनाक्रमले पुष्टि गरेको छ।
अनावश्यक युद्धमोह देखाउँदा अफगानिस्तान र इराकमा अमेरिकाले पनि ठूल्ाो मूल्य चुकाउनु परेको छ। अफगानिस्तान र इराकमा अमेरिकाले चाहेजस्तो राजनीतिक सुधार र शान्तिसुरक्षा सुदृढ हुन नसकेपछि त्यहाँका विद्रोहीहरूको मनोबल निकै बढेको छ। इराकबाट हार न जितको अवस्थामा अमेरिकी सेनाको फिर्तीले उत्साहित भएका विश्वका प्रमुख अतिवादी तथा आतङ्कवादी सङ्गठनहरू अल कायदा र तालिवानका नेताहरू अफगानिस्तानलाई पुनः कब्जा गर्ने अभियानलाई तीव्रता दिएका छन्। उनीहरूले शान्तिवार्तालाई बेवास्ता गर्दै युद्ध गरेर नै विदेशी सेनालाई पराजित गर्न सकिने दाबी गरेका छन्।
विशेष गरी अफगानिस्तान र पाकिस्तानको आदिवासी सीमा क्षेत्रलाई आतङ्कवादी गतिविधि गर्न 'सुरक्षित स्वर्गभूमि' बनाएका उनीहरूले त्यहाँ बसेर ठूलठूल्ाा आक्रमण गरिरहेका छन्। गत आइतवार र सोमबार काबुल र तीनवटा प्रान्तमा तालिवानले गरेको शृङ्खलाबद्ध भीषण आक्रमणले त्यहाँको शान्तिसुरक्षा कति कमजोर अवस्थामा पुगेको रहेछ भन्ने देखाएको छ। संसद् भवन, उपराष्ट्रपतिको कार्यालय, अमेरिकी लगायतका दूतावास र नाटो मुख्यालयलाई लक्षित गरी गरिएका आक्रमण र त्यसपछिको १८ घण्टासम्म नाटो आबद्ध बहुराष्ट्रिय सेनासँग भएको भिडन्तले तालिवान विद्रोहीहरू कमजोर अवस्थामा नरहेको प्रमाणित गरेको छ।
तालिवानी विद्रोहीहरूकै दबाब, आतङ्क र त्रासका कारण अफगानिस्तानमा न राष्ट्रपतीय चुनाव राम्रो भयो न संसदीय चुनावले नै जनतामा आशा जगाउन सक्यो। राष्ट्रपतीय र संसदीय निर्वाचन गराई अफगानिस्तानमा राजनीतिक सुधार गर्ने र शान्ति स्थापना गरी तालिवान विद्रोहीलाई तह लगाउने सपना पूरा हुन सकेन। दुवै चुनावको असफलताले चरम हिंसा भड्काएर सत्ता कब्जा गर्ने अतिवादी सोचका साथ युद्धको तयारीमा जुटेका तालिवानहरूको मनोबल झन् बढेको छ। पछिल्ला घटनाक्रमले त अफगानिस्तानमा शान्ति स्थापना गरी प्रजातन्त्रलाई संस्थागत गर्ने अमेरिकी चाहनामाथि गम्भीर धक्का लागेको छ।
सम्पन्न राष्ट्रपतीय निर्वाचनमा भएको धाँधली र अनियमितताको घटनाले अफगानिस्तानको नयाँ प्रजातान्त्रिक पद्धतिप्रति नै गम्भीर आघात मात्र पुर्याएन यस घटनाले राष्ट्रपति हमिद कारजायीलाई र अमेरिकालाई समेत ठूलो नैतिक चुनौती थपिदियो। विवादास्पद ढङ्गले दोस्रो कार्यकालका लागि चुनाव जित्नुभएका राष्ट्रपति हमिद कारजायीले पनि मुलुकलाई सही नेतृत्व दिन सक्नुभएन। उहाँले न राम्ररी प्रजातन्त्रको जग बसाल्न सक्नुभयो न तालिवान र अलकायदाको आतङ्कलाई समाप्त पार्न सक्नुभयो। तालिवानलाई सत्ताच्युत गरे पनि अल कायदा प्रमुख ओसामा विन लादेन मारे पनि आतङ्कवाद नियन्त्रणमा आउन सकेन झन् बढ्दो अवस्थामा पुगेको छ। अफगानिस्तानका लागि यो अभिशाप नै हो।
अहिलेको विषम परिस्थितिमा चारैतिरबाट विद्रोहीको घेराबन्दीमा परिसकेको र विदेशी सेनाको आडमा मात्र टिकेको अफगान सरकार र अफगानीको भविष्य सुरक्षित छैन। इराकबाटजस्तै दुई वर्षभित्र अफगानिस्ताबाट नेटोमा आबद्ध अमेरिकी लगायत सबै सेना फिर्ता हुने अवस्था छ। त्यसपछि अफगान नागरिकको भविष्य कसरी सुरक्षित हुन्छ ? यो अहम् प्रश्नको उत्तर अमेरिकाले कसरी दिने हो प्रतीक्षाको विषय बनेको छ। á