बार्सिलोना, वैशाख १३ गते। लियोनेल मेसीले पेनाल्टीमा गोल गर्न नसकेपछि गत विजेता बार्सिलोना मङ्गलबार राति च्याम्पियन्स लिगको सेमिफाइनलमा दस खेलाडीमा सीमित चेल्सीसँग २-२ ले बराबरीमा रोकिएको छ। घरेलु मैदानमा बेहोरेको यस नतिजाले बार्सिलोना फाइनलमा पुग्नबाट वञ्चित बन्यो। चेल्सीले फाइनलमा रियल म्याडि्रड अथवा बायर्न म्युनिखमध्ये एकविरुद्ध खेल्नेछ।
पहिले लेग १-० ले जितेको चेल्सी कुल ३-२ गोल अन्तरमा युरोपको सर्वाधिक प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि भिडन्तमा पुग्यो। दुई गोलले पछाडि पर्नु र कप्तान जोन टेरीले रातो कार्ड बेहोर्नुले प्रतिकूल परिस्थितिमा हुँदाहुँदै पि्रमियर लिग क्लब चेल्सी नाटकीयरूपमा खेल बराबर गरी अगाडि बढ्न सफल भएको हो। टेरीले अब आगामी महिना म्युनिखमा हुने फाइनलमा खेल्न पाउने छैनन्।
पूर्वार्द्धमा सर्जियो बस्केट्स र एन्दि्रयाज इनिएस्टाले गोल गरेपछि बार्सिलोना फाइनलतर्फ अग्रसर थियो। त्यसपछि अलेक्सी साञ्चेजलाई गलत नियतले लडाएपछि टेरीले रातो कार्ड पनि पाए।
तर प्रत्याक्रमणमा रामिरेजले दर्शनीय 'चिप' प्रहारमा गोल गरेपछि चेल्सीले आफूलाई अचानक अवे गोलको फाइदामा पुर्यायो। खेलको इन्जुरी समयमा स्थानापन्न खेलाडी फर्नान्डो टोरेजले बराबरी गोल गरी बार्सिलोनालाई प्रतियोगिताबाट पाखा लगाए।
पूर्वार्द्धमा एकपक्षीय दबाब बनाएको बार्सिलोनाले खेलको ३५ मिनेटमा लगातार आक्रमणको पुरस्कार पाएको थियो। डेनी एल्भस र इसाक कुएन्काको तालमेलमा चेल्सीको गोलपोस्टभन्दा छ गजको दूरीमा बल भेट्टाएका बस्केटले गोलको खाता खोलेका थिए। पूर्वार्द्धकै ४३औँ मिनेटमा इनिएस्टाले गोल गरी चेल्सीको डिफेन्सलाई पुनः छताछुल्ल पारे। तर एक मिनेटपछि नै रामिरेजले गोल गरी चेल्सीलाई अवे गोलमा अगाडि पारेर घरेलु दर्शकलाई चुप पारे।
उत्तरार्द्धमा डिडियर ड्रोग्बाले सेच फाबि्रगासलाई डिबक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो। यस सत्रमा ६३ गोल गरिसकेका मेसीले यसपालि भने पेनाल्टीमा पनि गोल गर्न सकेनन्।