काठमाडौँ, वैशाख १४ गते। नेपाल पुलिस क्लबसँग १-० ले स्तब्ध बनेपछि मनाङ मस्र्याङदी क्लबको लगातार तेस्रो पटक बि्रटिस गोर्खा नकआउट फुबटल प्रतियोगिताको फाइनलमा पुग्ने सपना चकनाचुर भएको छ।
खेलको २६ औँ मिनेटमा योगेश श्रेष्ठले गरेको गोल मनाङलाई महँगो सावित भयो। सुरज विकको पासमा योगेशले सानो डी बक्सबाट बल गोलपोस्टमा छिराएका हुन्। पुलिसले शनिबार दुई पटकको विजेता थ्री स्टारविरुद्ध उपाधि भिडन्त गर्नेछ।
पुलिसको जितमा योगेशबाहेक गोलरक्षक रितेश थापाको योगदान पनि महìवपूर्ण रह्यो। म्यान अफ द म्याच रितेशले पेनाल्टीसँगै गोल हुने खालका तीन घातक प्रहार गोलपोस्टभित्र छिर्न दिएनन्। रितेशले अनिल गुरुङको पेनाल्टी प्रहारलाई विफल पारेका हुन्। आयातित खेालडी एड्वेल ज्याकबले हानेको बल पुलिसका दीपेन्द्र पौडेलेको हातमा लागेपछि मनाङले पेनाल्टीबाट अग्रता लिने मौका पाएको थियो।
यसैगरी, खेलको १८ औँ मिनेटमा अमिर श्रेष्ठको सटिक प्रहारलाई विफल पारेका थिए। लगत्तै अनिलको ब्याकपासमा एड्वेल ज्याकबको प्रहार रितेशले पुनः जोगाए। मनाङका गोलरक्षक विशाल श्रेष्ठ भने पुलिसले गरेका तीन प्रहारमध्ये योगेशको प्रहारमा पराजित भएका हुन्।
खेलको २५ औँ मिनेटमा पुलिसका दिलीप राईको प्रहारमा गोलरक्षक विशाल 'बिट' भइसकेका थिए तर डिफेन्डर विकाससिंह क्षेत्रीले गोल हुन दिएनन्। उत्तर्रार्द्धमा पनि यो क्रम दोहोरियो। खेलको ६८ औँ मिनेटमा भोला सिलवालले करिब छ गजबाट प्रहार गरेको बलमा विशाल झुक्किएपछि डिफेन्डर सविन्द्र श्रेष्ठको खुट्टामा लागि बल गोलपोस्ट बाहिर गयो।
गोलरक्षक विशालले एकपछि अर्को गल्ती दोहर्याए पनि पुलिसले अग्रता दोब्बर पार्न सकेन। खेलको ७२ औँ मिनेटमा पर्वत पाण्डेको क्रसमा विशाल 'बिट' भए पनि योगेश गोल गर्न असमर्थ भए। खेल सकिन पाँच मिनेट बाँकी छँदा भोलाले खाली गोलपोस्टमा पनि बल छिराउन सकेनन्। गोलरक्षक विशाल र विकासको आपसी तालमेल नमिलेपछि भोलाले गोल गर्ने अवसर पाएका थिए।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले बि्रटिस गोर्खा कप उपाधि जित्ने लक्ष्यको नजिक पुगेको प्रतिक्रिया दिए। यसैगरी, मनाङका प्रशिक्षक देवेन्द्रजङ्ग शाहीले खेलमा दबाब राखे पनि जित हािसल गर्न नसकेको बताए।