सोलुखुम्बु, वैशाख १४ गते। अघिल्ला वर्षहरूको अनुपातमा यस वर्षको चैत महिनामा खुम्बु क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। यसले राजस्वमा समेत वृद्धि भएको छ । गत चैत महिनामा मात्र विभिन्न देसका ६ हजार २८ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन्। यो अघिल्लो वर्षको चैत महिनाको तुलनामा दुई हजारले वृद्धि भएको सगरमाथा राष्ट्रिय निकुुञ्ज प्रवेशद्वार जोरसल्लेले जनाएको छ।
सबैभन्दा बढी खुम्बु आउने पर्यटकहरूमा बेलायती रहेका छन्। यो अवधिमा एक हजार १४ जना बेलायती रहेका छन्। त्यस्तै अमेरिकाका छ सय ६१, जर्मनीका पाँच सय ९६ जना पर्यटकले चैत महिनामा भ्रमण गरेका छन् जुन अहिलेसम्मकै उच्च रहेको बताइएको छ। अघिल्लो तथ्याङ्कअनुसार २०६७ को चैतमा पाँच हजार ३५० रहेको र २०६६ सालको चैतमा पाँच हजार ४७५ पर्यटकले भ्रमण गरेका थिए। यस वर्ष बुल्गेरिया, प्यालेस्टाइन, कोस्टारिका, आइसल्याण्ड र बहराइनबाट पहिलो पटक खुम्बु क्षेत्रको भ्रमणमा आउनेको सङ्ख्या पनि उच्च रहेको छ। त्यसमा नौ वर्षमुनिका छजना बालबालिका रहेकोमा उनीहरूलाई निःशुल्क प्रवेशको अनुमति दिइएको निकुञ्जले बताएको छ।
निकुञ्जका अनुसार चैत महिनामा मात्र ४७ लाख ७० हजार रुपियाँ राजस्व प्राप्त भएको छ। यस सिजनको सगरमाथा आरोहणका लागि विभिन्न देशका गरी १४ टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। एकीकृत नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको टोलीसमेत रहेको छ। त्यस्तै आमादब्लम र नुप्से हिमाल आरोहणका लागि दुईवटा टोली प्रस्थान गरेका छन् भने ल्होत्से हिमाल आरोहणका लागि नौवटा टोली र तबोचे हिमाल आरोहणका लागि एक टोली प्रस्थान गरेको जनाइएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमशृङ्खलाहरूको मनोरम दृश्यको अवलोकन गर्न हवाई मार्ग प्रयोग गरी आउने पर्यटकहरूको आगमन दिन प्रतिदिन बढ्न थालेपछि नेपालकै अति व्यस्त तेन्जिङ्ग हिलारी विमानस्थलमा करिब पाँच पटकसम्म दैनिक उडान हुनेमा आजभोलि वृद्धि भएर सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको चाप बढेपछि दैनिक तारा एयर र अग्नि एयरलगायतले ३५ देखि ४० पटकसम्म दैनिक उडान हुने गरेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ। माघको अन्त्यसम्म प्रायः सुनसान जस्तै देखिने यहाँका पदमार्गहरूमा बाहृय पर्यटकहरूको आवातजावतमा वृद्धि हुन थालेको छ।