काठमाडौँ, वैशाख १४ गते। महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षको चैत मसान्तसम्म रु. सात करोड ३७ लाख ९१ हजार ९७५ रुपियाँ राजस्व सङ्कलन गरेको छ। महाशाखाले बुधबार यहाँ पत्रकार सम्मेलन गरी महाशाखा तथा सो मातहतबाट रु. चार करोड ८१ लाख १८ हजार ५०, मादक पदार्थ सेवनअन्तर्गत मोबाइल कोर्टबाट गरिएको जरिवानाबाट रु. एक करोड ७२ लाख ८१ हजार र अन्य मोबाइल कोर्टबाट रु. ८३ लाख ९२ हजार ९२५ राजस्व सङ्कलन गरिएको जनाएको छ। मोबाइल कोर्टको जरिवाना यातायात कार्यालयबाट खटिआउने कर्मचारीले गराउने र यातायात कार्यालयबाट राजस्व दाखिला गरिन्छ।
महाशाखाबाट चार लाख ७८ हजार ९७६ जनालाई र मोबाइल कोर्टबाट २३ हजार ४५९ जनालाई कारबाही गरी सो रकम सङ्कलन गरेको बताइएको छ। महाशाखा प्रमुख गणेशराज राईले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सवारी चालकलाई कारबाही गरी सो रकम सङ्कलन गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, गत वर्ष रु. तीन करोड ४९ लाख ८९ हजार ७०० राजस्व सङ्कलन गरिएकामा चालू वर्षको नौ महिनामा नै सोको दोब्बरले राजस्व सङ्कलन गर्न महाशाखा सफल भएको छ।' त्यसैगरी लैनचोर, नागपोखरी, गल्कोपाखा, माइतीघर, कालिमाटी, कमलपोखरी, कुपन्डोल, एयरपोर्ट, गैरीधारा, सातदोबाटोदेखि हात्तीवनलगायत २८ स्थानमा सडक चौडा गर्ने कार्य भइरहेको महाशाखाले जनाएको छ। महाशाखा प्रमुख राईले महाशाखाले सञ्चालन गरेका विभिन्न कार्यक्रमलाई अवरोध गर्न विभिन्न समूहले प्रयास गर्दै आएको भए पनि प्रहरी प्रधान कार्यालयबाट महाशाखामा नियमित अनुगमन, प्रोत्साहनलगायत सहयोग प्राप्त भएको जानकारी दिनुभयो।