ओखलढुङ्गा, वैशाख १५ गते। व्यापारीको भलाइका लागि भन्दै सदरमुकामका केही व्यापारीहरूले स्थापना गरेको भलाइ कोष अब उद्योग वाणिज्य सङ्घले सञ्चालन गर्ने तयारी भएको छ। व्यापारीको भलाइका लागि भन्दै सदरमुकामका केही ठूला व्यापारीहरूले साना व्यापारीहरूसँग अवैध रूपमा रकम लिएर बिना दर्ता कोष सञ्चालन गरेको विषयमा गोरखापत्र दैनिकमा समाचार प्रकाशन भएपछि कोष वैधानिक रूपमा वाणिज्य सङ्घको मातहतमा सञ्चालन गर्ने तयारी भएको हो।
दर्ता नै नगरी व्यापारी भलाइ कोष स्थापना गरेर व्यापारीहरूबाट रकम असुल्दै उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेपछि उपभोक्तहरू ठगिएको भन्दै उपभोक्ता र साना व्यापारीबाट विरोध भएपछि समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशन भएपछि कोष चलाउने व्यापारी र उद्योग वाणिज्य सङ्घबीच भएको छलफलबाट कोष वैधानिक रूपमा सङ्घको मातहतमा सञ्चालन हुने सहमति भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव उदासले बताउनुभयो। उहाँले कोष संस्थागत रूपमा सबैको हितमा चलाउने सहमति भएको जानकारी दिनुभयो। संस्थागत भएपछि अब कोही ठगिने र कोही मोटाउने अवस्था रहँदैन उहाँले भन्नुभयो।
सामान ढुवानीमा हुने क्षतिबाट व्यापारीहरू मारमा परेको भन्दै रकम असुलेर क्षतिपूर्ति दिने व्यवस्था गरेर अवैध रूपमा कोष सञ्चालन भएको थियो। बिना दर्ता कोषको स्थापना गरी आपतकालीन खर्चका रूपमा व्यापारीहरूबाट रकम उठाउने र कोषमा उठाएको रकमसहित जोडेर उपभोक्तालाई सामानमा महँगो मूल्य लिएर लुट्ने काम गरेको उपभोक्तहरूले गुनासो गरेका छन्। कोष स्थापना गरेर प्रहरीसँगको मिलेमतोमा अवैध मालसामानहरू मूल्य अभिवृद्धि कर -भ्याट) नै नतिरी जिल्ला भित्र्याउने खेल भएको भन्दै चौतर्फी विरोध र अवैध कामको नियमन गर्न प्रशासन मौन बसेको उपभोक्तालेे आरोप लगाउँदै आएका छन्।
कोष स्थापना गरेपछि कतिपय व्यापारीहरूले सामान ढुवानी गर्न महँगो पर्ने भएको हुँदा अवैध तवरले चामलको बोरामा अन्य महँगो सामान राखी थोरै कर तिरेर ल्याउने गरेका थिए। कोषमा उठाएको रकम उपभोग्य वस्तुमा जोडेर सामान बिक्री गरेको भन्दै केही ठूला भनिने व्यापारीहरूले सर्वसाधारणलाई महँगीको मारमा परेको व्यापारी किरण श्रष्ठले बताउनुभयो। कोष व्यापारिक हितका लागि भएकाले अब उद्योग वाणिज्य सङ्घबाट चलाइने कोषका सदस्य वसन्त श्रेष्ठले बताउनुभयो। कोष व्यापारीको हितका लागि भएकाले सबैलाई सहयोग हुने श्रेष्ठको भनाइ छ।
सुनकोशीको पुल त कहिले ढुवानी महँगो र ढिलो हुने भन्दै विभिन्न बहानामा उपभोक्ताहरूलाई म्यद नाघेका सामग्री बेच्दै आएका व्यापारीहरूले सुनकोशीमा बेलीबि्रज बनिसकेको भए पनि अझै म्याद गुजि्रएका खाद्य सामग्रीहरू बिक्री गरिरहेका छन्। सदरमुकामका धेरै व्यापारीहरूले म्याद गुजि्रएका खाद्य सामग्रीहरू बेच्ने तथा सामान ढुवानीमा सहज भइसक्दा पनि उपभोक्ताबाट महँगो मूल्य असुलेर लुट्ने काम गरेको स्थानीय उपभोक्ताहरूलेे गुनासो गरेका छन्।