काठमाडौँ, वैशाख १५ गते। नेपाल राष्ट्र बैङ्कका गभर्नर युवराज खतिवडाले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह अधिक गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल टेलिभिजनद्वारा प्रसारित आर्थिक कार्यक्रम 'अर्थको अर्थ' सञ्चालनको १९औँ वाषिर्कोत्सवका अवसरमा इन्डिपेन्डेन्ट बिजिनेस न्युज प्रा.लि.ले शुक्रबार यहाँ आयोजना गरेको 'कृषिमा लगानी, चुनौती र अवसर' विषयक कार्यशालाको उद्घाटन गर्दै गभर्नर खतिवडाले ग्रामीण भेगमा बैङ्क तथा वित्तीय संस्थाले सेवा विस्तार गर्नैपर्छ भन्नुभयो ।
उहाँले कृषि क्षेत्रको उन्नयन तथा आर्थिक वृद्धिका लागि सरल कर्जा प्रवाह अपरिहार्य भएको विचार व्यक्त गर्दै किसानमुखी वित्तीय सेवाका कार्यक्रम गाउँगाउँमा पुर्याउन आहृवान गर्नुभयो । उहाँले भन्नुभयो- 'लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएका वित्तीय संस्थासँग सञ्जाल निर्माण एवम् सहकार्य गरेर सबै वाणिज्य बैङ्क किसानको घरदैलोमा पुग्नु आजको आवश्यकता हो ।'
इन्डिपेन्डेन्ट बिजिनेस न्युजका प्रबन्ध निर्देशक हृदय गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल बैङ्कर सङ्घका अध्यक्ष अशोक राणाले गाउँमुखी बैङ्किङ सेवा विस्तारका लागि आफूहरू तयार रहेको बताउनुभयो ।