बार्सिलोना -स्पेन), वैशाख १५ गते। फर्नान्डो लोरेन्टको नायकीय प्रदर्शनमा बिहीबार राति एट्लेटिको बिल्बाओ भ्रमणकारी टिम स्पोर्टिङ लिस्बनलाई ३-१ ले हराएर युरोपा लिगको फाइनलमा पुगेको छ। बिल्बाओले समग्रमा ४-३ गोल अन्तरले जित हासिल गर्यो। बिल्बाओले उपाधि भिडन्त स्पेनकै अर्को क्बल एट्लेटिको म्याडि्रडविरुद्ध गर्नेछ। यसै हप्ता बार्सिलोना र रियल म्याडि्रड क्रमशः चेल्सी र बायर्न म्युनिखसँग हारेपछि च्याम्पियन्स लिगमा स्पेनका दुई क्लबको उपाधि भिडन्तको सम्भावना समाप्त भएको थियोत तर बिल्बाओ र एट्लिटिको म्याडि्रडले युरोपेली फुटबलको दोस्रो प्रतिष्ठित फुटबल प्रतियोगितामा भने स्पेनका दुई क्लबको उपाधि भिडन्त पक्का गरे।
एट्लेटिको म्याडि्रड सन् २०१० मा च्याम्पियन बन्ने टिम हो। एट्लेटिको म्याडि्रडले स्पेनकै अर्को क्लब भ्यालेन्सियालाई समग्रमा ५-२ ले हरायो। एडि्रयानो लोपेजेले खेलको ६०औँ मिनेटमा गोल गरेपछि दोस्रो लेगमा पनि एट्लेटिको म्याडि्रडले भ्यालेन्सियालाई १-० ले पराजित गरेको हो।
एट्लेटिको बिल्बाओका लागि लोरेन्टले एक गोल गर्नुका साथै दुई गोलमा सहयोगीको भूमिका निर्वाह गरे। बिल्बाओका लागि मार्केल सुसेरा र इबाई गोमेजले पनि गोल गरे। पोर्चुगलका क्लबको तर्फबाट भएको एक मात्र गोल रिकी भान वोल्ˆसविन्केलको नाममा रह्यो।
बिल्बाओले फाइनलको यात्रा गर्ने क्रममा म्यान्चेस्टर युनाइटेड र जर्मनीको साल्केजस्ता ठूला क्लबलाई पाखा लगाएको थियो। सन् १९९७ मा युइएफए कपको फाइनल युभेन्टससँग हारेपछि बिल्बओले पहिलो पटक युरोपेली क्लब प्रतियोगिताको उपाधि भिडन्त गर्न लागेको छ। बिल्बाओले कोपा डेल रेको फाइनलमा पनि स्थान बनाइसकेको छ। जहाँ उसले बार्सिलोनाको सामना गर्नेछ।
युरोपा लिगको फाइनल खेल मे ९ तारिखमा रोमानियाको बुखारेस्टमा हुनेछ। फाइनल जसले जिते पनि पछिल्ला सात वर्षमा स्पेनको क्लबको चौथो उपाधि हुनेछ। एएफपी