ललितपुर, वैशाख १७ गते। नेपाल इन्भेस्टमेन्ट बैङ्कले तेस्रो 'एनआईबीएल हेरिटेज म्याराथन २०१२' आगामी शनिबार आयोजना गर्ने भएको छ।
बैङ्कले आइतबार पाटन दरबार क्षेत्र परिसरमा पत्रकार सम्मेलनमार्फत जीर्ण बन्दै गएका उपत्यकाका सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी जनचेतना जगाउन तथा पुनः निर्माणका लागि सघाउन सो म्याराथन आयोजना गरिएको हो।
बैङ्कका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत पृथ्वीबहादुर पाण्डेले यस पटकको म्याराथनबाट पाटन दरबार क्षेत्र परिसरमा रहेको भैदेवल मन्दिरको जीर्णोद्वारका लागि दश लाख रूपियाँ बराबरको आर्थिक सहयोग जुटाउने लक्ष्य रहेको जानकारी गराउनुभयो। सांस्कृतिक सम्पदाको वर्तमान अवस्थालाई सांस्कृतिक सम्पदा संरक्षण समुहसँगको सहकार्यमा बैङ्कले सो अभियान सुरू गरेको उहाँले बताउनुभयो। सांस्कृतिक सम्पदा संरक्षण समूहका उपाध्यक्ष कनकमणि दीक्षितले बैङ्कले सम्पदा संरक्षणमा यसरी निरन्तरताका साथ लाग्नु सबैका लागि खुशीको कुरा भएको बताउनुभयो।
बैङ्कले सन् २००७ देखि गर्दै आएको म्याराथनबाट उपत्यकामा रहेका सांस्कृतिक सम्पदाहरूको जीर्णोद्वारका लागि सघाउँदै आएको छ। बैङ्कले यसअघि हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मन्दिरका लागि रु. १५ लाख, पाटन दरबार क्षेत्रस्थित सुन्दरी चोकका लागि २५ लाख तथा पशुपति आर्यघाटमा दाहसंस्कार स्थल निर्माणका लागि रु. छ लाख बराबरको सहयोग प्रदान गरिसकेको छ।