'अर्धदक्ष वयस्कमा लगानी गर्नुभन्दा अवसरबाट वञ्चित बालबालिकामा लगानी गर्दाको प्रतिफल दर धेरै गुणा बढी हुन्छ।' अर्थशास्त्रका नोबेल पुरस्कार विजेता जेम्स हेकम्यानको यो भनाइबाट बालबालिकाको हेरचाह र शिक्षाको महत्त्व प्रष्टिन्छ।
'सबैका लागि शिक्षा' को सहस्राब्दी विकास लक्ष्यअनुसार नेपालको प्रारम्भिक बालविकासको अवस्था सुधारोन्मुख भए पनि बालविकासप्रतिको बुझाइ, बालविकास केन्द्रको सञ्चालन विधि र यसमा राज्यको लगानीको पक्ष भने कमजोर छ।
बालविकास, बाल्यावस्थाका नागरिकहरूको जीवन रक्षा, उचित स्याहार, पालनपोषण, स्वास्थ्य स्याहार गर्न र उनीहरूमा अन्तरनिहित क्षमता तथा सम्भावनाको अधिकतम विकास गर्नु हो। यो विश्वव्यापीरूपमा स्थापित मौलिक हक पनि हो, जसलाई बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र राष्ट्रिय कानुनले पनि मान्यता दिएका छन्।
अन्तर्राष्ट्रिय मान्यताअनुसार प्रारम्भिक बालविकास भन्नाले शून्य देखि आठ वर्षसम्मको उमेर अवधिलाई समेट्छ। दीर्घकालीन सिकाइका लागि प्रारम्भिक बालशिक्षा र हेरचाह एक महत्त्वपूर्ण पक्ष हो। यो प्रक्रिया बच्चाको जन्मसँगै प्रारम्भ हुन्छ। गुणात्मकका साथै पूर्ण प्रारम्भिक बालशिक्षाले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक एवं संवेगात्मक तथा भाषिक विकासमा समेत महत्त्वपूर्ण योगदान गर्दछ।
शिक्षा विभागले जारी गरेको 'प्रारम्भिक बालविकाससम्बन्धी रणनीतिक पत्र, २०६१' ले बालविकास कार्यक्रमको अन्तिम लक्ष्य भनेको बालबालिकाको सुखी र समुन्नत जीवन सुनिश्चित गर्नु एवं उनीहरूको विकासलाई सहज बनाउनु हो।
नेपालमा कुन मन्त्रालय वा निकायले बालविकासलाई हेर्ने भन्ने पनि अन्योलको विषय बनेको छ। हाल शिक्षा मन्त्रालयको मातहतमा रहेका बालविकास केन्द्रको सञ्चालनमा देखिएको अव्यवस्थाले पनि सो कुरालाई पुष्टि गर्दछ। किनकि बालविकास केन्द्रमा बालबालिकालाई रुचिअनुसार खेल्ने, नाच्ने र सिकाउने कार्यभन्दा पढाउने कार्य बढी भएकामा विज्ञहरूले चिन्ता प्रकट गरेका छन्।
बालविकासका लागि शिक्षा मन्त्रालयका अतिरिक्त, स्थानीय विकास, स्वास्थ्य र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय पनि सरोकारवाला निकायमा पर्ने भए पनि हालको सञ्चालन संरचना हेर्दा शिक्षा मन्त्रालयको मात्रै जिम्मेवारी जस्तो देखाइएको छ। हाल नेपालमा सञ्चालन भइरहेको शिक्षाका लागि विश्वव्यापी अभियान अन्तर्गतका कार्यक्रममा पनि यिनै चिन्ता उत्पन्न भएका छन्।
मानव जीवनका प्रारम्भिक बालविकासका विशेषतामा शारीरिक, बौद्धिक, संवेगात्मक र सामाजिक विकासलाई लिइन्छ। यी पक्षबाट नै व्यक्तिको सर्वाङ्गीण विकास हुन्छ। यसलाई प्रयोग गराउने काम बालविकास केन्द्रको हुन्छ।
शारीरिक विकास अन्तर्गत स्वास्थ्य, पोषण, खोप, सुरक्षा साथै शारीरिक वृद्धि, शारीरिक सन्तुलन, विभिन्न अङ्गबीच समन्वय र सामञ्जस्य, सूक्ष्म कार्य गर्ने सीप विकास, मांसपेसी नियन्त्रण र परिचालन पर्दछन्। बौद्धिक विकास अन्तर्गत मौलिक र सिर्जनशील ढङ्गले सोच विचार र कार्य गर्ने बानी, वैज्ञानिक सोच र कारणको खोज गर्ने प्रवृत्ति, गणितीय अवधारणा, भाषा विकास तथा अभिव्यक्तिका सीप, स्मरण क्षमता आदि पर्दछन्।
संवेगात्मक विकासमा संवेदनशीलता, सहिष्णुता, प्रसन्नता, शान्ति, आत्मसंयम, दया, करुणा, आत्मविश्वास र आत्मसम्मान जस्ता विशेषता पर्दछन् भने सामाजिक विकासमा आदर र समानताको व्यवहार, नियम पालन, अनुशासन, एकता, मेलमिलाप भाव, सहिष्णुता, क्षमाशील, मित्रता र आत्मनिर्भरतालगायत पर्दछन्।
हाल नेपालमा सरकारी, गैरसरकारी र निजीक्षेत्रका गरी ३१ हजार ७७३ वटा बालविकास केन्द्र छन्। यी केन्द्रमा तीनदेखि पाँच वर्षसम्मका बालबालिकालाई उनीहरूको समष्टिगत विकासका पक्षमा सिकाउने काम गरिन्छ तर त्यहाँ सिकाउने सहजकर्तालाई मासिक रु. १८०० मात्रै पारिश्रमिक दिएर उनीहरूबाट कति गुणस्तर खोज्ने ?
सबैका लागि गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि हरेक वर्ष 'सबैका लागि शिक्षा' प्रवर्द्धनका निम्ति यो वर्ष 'सुरुवातदेखि नै प्रारम्भिक बालशिक्षा र हेरचाह' लाई स्थापित गर्न 'घर बलियो जगले, राष्ट्र बलियो बालविकासले' भन्ने नाराको अभियान नेपालमा पनि चलिरहेको छ।
विशेषगरी अति संवेदनशील तथा सुविधाविमुख बालबालिकाका लागि बृहत् 'बाल विकास तथा शिक्षाको विस्तार तथा साुधार' सरकारी निकायको समन्वयन र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको संयोजनमा सञ्चालित अभियानमात्रै बालविकासका लागि सबैथोक हुन सक्दैन। अभियानका क्रममा गरिएका बृहद् चित्रकला, गोलमेच छलफल, पर्चा वितरण वा सञ्चार माध्यमका सम्प्रेषणसमेतलाई राज्यका निकायले मनन गर्न सके बालविकासमा नयाँ फड्को हुनेछ। त्र