लन्डन, वैशाख १८ गते। लियोनेल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनी लिगमा आइतबार राति रायो भाल्कानोलाई ७-० ले हराएको छ। जुन नतिजाले रियल म्याडि्रडको उपाधि पर्खाइ लम्बिएको छ। बार्सिलोना हारेको भए सोही दिन रियल म्याडि्रड च्याम्पियन बन्ने थियो।
यस सत्रमा मेसीले ६५ गोल गरिसकेका छन्। सन् १९७२-७३ मा बायर्न म्युनिखका गर्ड म्युलरले ६७ गोल गरी राखेको कीर्तिमान भङ्ग गर्न मेसीलाई दुई गोलको मात्र खाँचो छ। यस सत्रमा मेसीले अझ चार खेल खेल्न बाँकी छ।
खेलको १६औँ मिनेटमा मेसीले गोल गरेपछि बार्सिलोनाले अग्रता बनाएको थियो। मेसीले खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। यसबीच पेड्रो रोडि्रगेजले दुई तथा सिडोउ किइटा र थियागो अल्कान्तराले एक/एक गोल गरेका थिए। बार्सिलोनालाई एक गोल रायो भालाकानोका रोवरको आत्मघाती गोलबाट प्राप्त भयो।
फर्नान्डो टोरेजले साढे दुई वर्षमा पहिलो पटक हृयाटि्रक गरेपछि इङ्लिस पि्रमियर लिगमा चेल्सीले आइतबार राति क्विन्स पार्क रेन्जर्सलाई ६-१ ले हरायो। यसैगरी, टोटेनहाम हस्परसले ब्ल्याकबर्न रोभर्सलाई २-० ले हराएर आफूलाई चौथो स्थानमा उभ्यायो। टोटेनहामसरह समान अङ्क बनाएको न्युक्यासल गोल अन्तरमा पाँचौँ स्थानमा छ। यी दुई क्लब तेस्रो स्थानमा रहेको आर्सनलभन्दा तीन अङ्कले पछाडि छन्। चेल्सी छैटौँ स्थानमा छ।
च्याम्पियन्स लिगको फाइनलमा पुगेपछि पहिलो पटक खेल्दै गरेको चेल्सीले रेन्जर्सविरुद्ध खेलको ४९ सेकेन्डमा नै अग्रता बनाएको थियो। पहिलो गोल डेनियल स्टुरिजले गरे। खेलको १३औँ मिनेटमा जोन टेरीले हेडमार्फत गोल गरी अग्रता दोब्बर पारे। त्यसपछि टोरेजले खेलको १९, २५ र ६४औँ मिनेटमा लगातार तीन गोल गरी हृयाटि्रक पूरा गरे। सन् २००९ मा लिभरपुलको जर्सीमा हलविरुद्ध तीन गोल गरेपछि टोरेजको यो पहिलो हृयाटि्रक हो।
खेलको ८०औँ मिनेटमा ˆलोरेन्ट मालुडाले स्कोर ६-० पारे। रेन्जर्सका लागि सान्त्वना गोल निर्धारित समयको खेल सकिन छ मिनेट बाँकी छँदा जिबि्रल सिजेले गरे। क्विन्स पार्क रेन्जर्स गोल अन्तरको आधारमा मात्र रेलिगेसन क्षेत्र माथि रहेको छ।
इटालियन सिरी 'ए' मा युभेन्ट्स छिमेकी क्लब नोभारालाई ४-० ले हराएर लिग उपाधि जिततर्फ अग्रसर भएको छ। यस सत्रमा युभेन्ट्स अपराजित छ। यसैगरी, युभेन्ट्स इटालियन कपको फाइनलमा पनि पुगिसकेको छ। युभेन्ट्सले मे २० मा नापोलीविरुद्ध उपाधि भिडन्त गर्नेछ। एपी