रामनगर भुटाहा -सुनसरी), वैशाख १९ गते। सुनसरीको रामनगर भुटाहा गाविस-७ निवासी ५० वषर्ीय सलिम अन्सारी सोमबार राति १० बजे घरको ओच्छ्यानमा सुत्नुभएको थियो। उहाँ राति ११ः३० नबज्दै आगोको मुस्लोले आत्तिनुभयो।
छिमेकी फुदाई मियाँको गुहाली घरबाट सल्केको आगोले सलिमको घरलाई समेत निशाना बनाएकाले उहाँकोसमेत तीनवटा घर जलेर नष्ट भयो। राति घरमा अचानक आगलागी भएकाले छोराछोरी र श्रीमतीलाई सकुशल बाहिर निकाले पनि घरमा रहेको लाखौँको सरसामान जलेको सलिमले बताउनुभयो।
उहाँले भन्नुभयो- घरमा पाहुना थिए, राति १० बजे सुत्यौँ, एक घण्टापछि हल्लासमेत नभई तातो रापसँगै गर्मी भयो भनी पाहुनाले सुनाएपछि उठेर हेर्दा आगोको मुस्लो देखियो, अनि सबैलाई घरबाहिर निस्कन हल्ला गरँे। गाउँमा एकाएक मानिसहरू भेला भए तापनि आगो भने नियन्त्रणमा ल्याउन सकिएन।
हाम्रो घरैमाथि घर भएर होला, एक डेढ घण्टामै ५० घर जलेर खरानी भयो, उहाँले भन्नुभयो। आगलागी हुनु अगाडि राति १० बजेसम्म सबै परिवार हाँसीखुसी थिए तर आगलागीले हाँसो नै हरायो, सलिमका छिमेकी ज्वलाउद्दिनले भन्नुभयो।
सलिमजस्तै सुनसरी रामनगर भुटाहाको भीषण आगलागीमा सराजुद्दिन मियाँ, इलियास मियाँ, फिदा हुसैन, सबिर मियाँ, सलिन मियाँ, फुदाई मियाँ, ज्याउदिन मियाँ, नजाम मियाँ, अबुल कलाम, मोम्मद अन्सारीलगायतका घर जलेको हो।
सुनसरीमा आगलागी...
त्यसैगरी, अहमद सन्सारी, नौसाद अन्सारी, नुरुदिन मियाँ, अजिम मियाँ, कलमुदिन मियाँ, अफसर मियाँ, जियाउद्दिन मियाँ, समसाद मियाँ, न्याज अन्सारी र रजाक अन्सारीलगायत २० परिवारका ५० घर जलेर नष्ट भएको छ।
भुटाहा-७ को अन्सारी टोलमा भएको आगलागीमा २० परिवारका ५० घर जलेर नष्ट हुँदा २ करोड रुपियाँबराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ। आगलागीमा सबैभन्दा बढी सराजुद्दिन अन्सारीको गोदाममा रहेको ५० लाख मूल्यबराबरको जुट र गहँु जलेको स्थानीय लुकमान अन्सारीले जानकारी दिनुभयो।
आगलागीमा परी पीडितहरूको दुईवटा पाडापाडी, छवटा खसी र दुई बाख्रासहित १० चौपाया जलेर मरेको पीडित जियाउद्दिन मियाँले बताउनुभयो। गुहाली घरमा गाईवस्तुलाई लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोले गाउँ नै सखाप पारेको घटनास्थलको अनुगन गरेर र्फकनुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले बताउनुभयो। घुरको सानो आगोको झिल्काका कारण आगोले भीषण रूप लिई आगलागीमा परिणत भएकाले गाउँनै पीडामा परेको छ।
आगलागीलाई सुनसरीको धरान, इटहरी, विराटनगरबाट आएको तीनवटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरूले ८ घण्टा लगाएर राति भएको आगलागी बिहान ८ बजेमात्रैे नियन्त्रणमा लिइएको थियो।
आगलागीपीडित परिवारहरूको घरमा रहेको एक सयवटा ड्रममा राखेको गहँु, चामल, धानसहितका खाद्यवस्तु, लत्ताकपडा, एउटा मोटरसाइकल, १२ वटा साइकल, सुनचाँदीका गरगहना जलेर खरानी हँुदा दुई करोडको क्षति भएको रामनगर भुटाहा गाविसका बहिदार समिम अन्सारीले बताउनुभयो।
आगलाग्ाीका कारण अहिले अग्निपीडित २० परिवारका १९३ जना घरबारविहीन बनेका छन्। उनीहरूलाई खाद्यान्न सङ्कट परेकाले सुनसरीको भोक्राहा र नरसिंह गाविस-९ स्थित चिरौलीचोकका स्थानीयवासी र व्यापारीहरूले आपत्कालीन राहत वितरण गरेका छन्।
मङ्गलबार बिहान चिरौलीचोकका व्यवसायी, स्थानीयबासी र राजनीतिकर्मीहरूले राहत सङ्कलन गरी खाद्यान्नका लागि पीडितलाई राहत वितरण गरेका थिए। अग्निपीडितहरूलाई नौ बोरा च्युरा, १८ बोरा भुजा, छ कार्टुन चाउचाउ, साढे १० लिटर खाने तेल, १० थान साडी, ३० केजी नुन, १ कार्टुन भुजिया, १ कार्टुन बिस्कुट र पानी खानका लागि दुई सय गिलास वितरण गरेको भोक्राहाका काँग्रेस सभापति हारुन अन्सारीले जानकारी दिनुभयो।
पीडितहरूलाई नेपाल मुस्लिम सङ्घका अजमल हुसैनलगायतको उपस्थितिमा राहत वितरण गरेको काँग्रेसका क्षेत्रीय सचिव सुनिलकुमार साहले जानकारी दिनुभयो।
जिल्ला दैवीप्रकोप उद्धार समिति सुनसरीले समेेत राहत वितरणको तयारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले जानकारी दिनुभयो।
प्रजिअ थापाका अनुसार प्रतिअग्निपीडित परिवारलाई तीन हजार रुपियाँ नगद, खाद्यान्न र भाँडाकुँडा वितरण गरिने तयारी भएको छ।
यसैबीच, सुनसरीसहित पूर्वी तराई भेगमा केही दिनयता बढेको आगलागीका काराणले २० करोडभन्दा बढीको क्षति भएको छ। तराईका जिल्लाहरूमा दमकलको अभाव, स्थानीयमा जनचेतनाको कमी र अत्यधिक हावाहुरीका कारणले आगलागीबाट बढी क्षति भएको हो। एक हप्ताको अवधिमा सिराहा, सप्तरी, मोरङ र सुनसरी गरी पाँच जिल्लामा भएको आगलागीमा २० करोडको क्षति भएको छ।