काठमाडौँ, वैशाख १९ गते। एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण'ले जनयुद्धका प्रतिबद्धताहरू त्यागेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मजदुरहरूलाई धोका दिएको बताउनुभएको छ।
मङ्गलबार यहाँस्थित वसन्तपुरमा अखिल नेपाल टे्रड युनियन महासङ्घसहित चारवटा महासङ्घले संयुक्त आयोजना गरेको १२३औँ विश्व मजदुर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त आरोप लगाउनुभएको हो।
अखिल नेपाल टे्रड युनियन महासङ्घ, अखिल नेपाल प्रगतिशील टे्रड युनियन महासङ्घ -एकीकृत), क्रान्तिकारी मजदुर सङ्घ नेपाल र अखिल नेपाल टे्रड युनियन महासङ्घ -क्रान्तिकारी)ले ठेकेदारी, ज्यालादारी र करार प्रथा अन्त्य गर्दै उचित पारिश्रमिकसहितको रोजगारी प्रत्याभूत हुनुपर्ने मागसहित सो कार्यक्रम गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष किरणले बाहृय र आन्तरिक रूपमा आत्मसमर्पणवादको गम्भीर खतरा रहेको र जनताको सङ्घीय गणतन्त्रसहित मजदुर हकहितलाई स्थापित गर्ने समानुपातिक प्रतिनिधित्व आवश्यक भएको विषयमा आफूहरू लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
'गरीब जनता, किसान, मजदुर, उत्पीडित जाति, जनजाति, वर्ग, लिङ्ग, क्षेत्रको अधिकार स्थापित गर्ने भनेर जसले जनयुद्धको नेतृत्व गर्यो, उसैले धोका दियो, सबैलाई धोका भएको छ,' उहाँले जोड दिएर भन्नुभयो, 'सरकारी सेना प्रयोग गरेर जनमुक्ति सेनालाई आत्मसमर्पण गराएर शान्तिप्रक्रिया टुङ्गाइयो।'
अरुले धोका दिए पनि आफूहरूले धोका नदिने उद्घोष गर्दै उहाँले धोका दिनेविरुद्ध आफूहरूले जुनसुकै प्रकारको आन्दोलन गर्नसक्ने चेतावनी दिनुभयो।
आफूहरूलाई शान्ति र संविधानविरोधीका रूपमा प्रचार गर्दै पार्टी फुटाउने आरोप लगाउने गरेको उहाँले बताउनुभयो। वरिष्ठ नेता किरणले जनताको हकहितलाई प्रत्याभूत गर्ने किसिमले मात्र पार्टी एकता हुने जानकारी गराउँदै भन्नुभयो, 'जनताको हकहितलाई स्थापित गर्ने प्रकारले एकता गर्न सकिन्छ, हामी फुट्ने कुरा होइन।'
पार्टीका महासचिव रामबहादुर थापा 'बादल'ले उपाध्यक्ष डा. बाबुराम भट्टराईको विचारप्रति लक्षित गर्दै क्रान्ति, आन्दोलन र परिवर्तन जनताको आवेग, साहस र सङ्कल्पबाट आउने बताउनुभयो।
उहाँले भारत र नेपालबीच विशेष सम्बन्ध रहेको भन्ने प्रचण्डको भनाइको स्पष्टीकरण माग गर्नुहुँदै दुई देशबीच समान रूपमा मैत्रीपूर्ण सम्बन्ध आवश्यक भएको बताउनुभयो। उहाँले आˆनो पक्ष बुर्जुवाविरोधी र अग्रगामी भएको उल्लेख गर्नुभयो।
नेकपा -माओवादी)का संयोजक मातृका यादवले नयाँ सरकारको बहस सार्वजनिक भइरहेको सम्बन्धमा पार्टीका वैद्य पक्षको धारणा माग गर्नुभयो।
उहाँले एमाओवादी पार्टीका अध्यक्षले सैद्धान्तिक र वैचारिक रूपमा पार्टीको लाइन छोडेेको आरोप लगाउँदै विद्रोह गर्न आहृवान गर्नुभयो।
नेकपा -एकीकृत)का सचिव सीताराम तामाङले संविधानमा जनताको अधिकार सुनिश्चित गर्न थप आन्दोलन गर्नुपरे आफूहरू पनि तयार रहेको बताउनुभयो। उहाँले राज्य पुनःसंरचनामा पहिचानसहित सामथ्र्यको राज्य आवश्यक भएको भनाइ राख्नुभयो।
माओवादीका केन्द्रीय सदस्य रेखा शर्माले पूर्णरूपमा महिलाको अधिकार सुनिश्चित हुने सम्भावना कम हुँदै गइरहेको बताउनुभयो।