काठमाडौँ, वैशाख १९ गते। एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको पक्षमा संविधान बन्न सकेन भने विद्रोहको आँधीबेहरीलाई कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ।
१२३औँ अन्तर्राष्ट्रिय मई दिवसको अवसरमा राजधानीमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले आयोजना गरेको आमसभामा उहाँले सो कुरा बताउनुभएको हो।
दलहरूबीच यथास्थिति वा प्रगतिशील संविधान निर्माण गर्ने भन्ने विषयमा सङ्घर्ष चलिरहेको भन्दै प्रचण्डले यदि जनमुखी संविधान बन्न नसके भीषण विद्रोहलाई कसैले पनि रोक्न नसक्ने उद्घोष गर्नुभयो।
माओवादीलाई कमजोर गर्न देशी-विदेशी शक्ति लागिपरेका छन्, प्रचण्डले भन्नुभयो, 'माओवादीभित्र अहिले एकताको विकल्प छैन।'
कुनै पनि देशको क्रान्ति सजिलोसँग सफल नभएको तर्क गर्दै प्रचण्डले पार्टीभित्र बहस, छलफल तथा झगडा हुनु स्वभाविक भएको बताउनुभयो। प्रचण्डले भन्नुभयो, 'पार्टीभित्रको झगडालाई सडकमा छताछुल्ल गरेर पोख्नु ठीक होइन। माओवादीलाई कमजोर गर्न देशभित्र तथा बाहिरका प्रतिक्रियावादी शक्तिहरू लागिपरेको उल्लेख गर्दै प्रचण्डले टुटफुटको खेती गरेर फाइदा लुट्ने सपना नदेख्न सबैलाई आग्रह गर्नुभयो।
दसवर्षे जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजातिलगायतका सम्पूर्ण आन्दोलनमा पिछडिएको क्षेत्र, जनजाति, दलित, महिला तथा उत्पीडनका अधिकार ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए अनुरूप अब बन्ने संविधान पनि ती सम्पूर्ण पक्षको अधिकार ग्यारेन्टी गर्ने संविधान बन्ने भन्दै प्रचण्डले अधिकारबिनाको संविधानले देशमा पुनः विद्रोह हुने बताउनुभयो।
विभिन्न वर्ग, जाति, क्षेत्र तथा समाजमाथि अपमान भएकाले दस वर्ष जनयुद्ध भएको हो, प्रचण्डले भन्नुभयो, 'फेरि त्यस्तै भयो भने अर्को विद्रोहलाई कसैले रोकेर रोकिन्न।'
२०५२ सालभन्दा अगाडि माओवादीसँग न त कुनै हतियार थियो न त कुनै सेना, प्रचण्डले थप्नुभयो, 'त्यही उत्पीडनले नै सेना र हतियार जन्माएको हो। फेरि पनि देशलाई यथास्थितिमा राखेर कसैको अधिकार खोसिन्छ भने फेरि विद्रोह हुनसक्छ।' माओवादीले सेना समायोजन गरेर कतिपयलाई अनौठो लागेको हुनसक्छ, प्रचण्डले भन्नुभयो, 'सङ्घीय गणतन्त्र तथा परिवर्तनलाई आत्मसात् गरेको नेपाली सेनालाई मित्रका रूपमा देखेर नै हामीले सेना समायोजन गरेको हौँ।'
प्रचण्डले संविधान जनताको पक्षमा लेख्न पनि सेना समायोजन गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो। उहाँले सम्र्पूण वर्गको अधिकार संस्थागत गर्ने संविधान बनाउन प्रयत्नशील रहेको उल्लेख गर्दै दलहरूबीच यथास्थिति वा प्रगतिशील संविधान बनाउने भन्नेबारेमा ठूलो सङ्घर्ष चलिरहेको उल्लेख गर्नुभयो। अध्यक्ष प्रचण्डले वैद्य पक्षलाई सडकमा गएर आन्दोलन गर्दा पूँजीवादीलाई फाइदा पुग्ने भन्दै पार्टीभित्र देखिएका विचारलाई स्वस्थ ढङ्गबाट पार्टीभित्रै छलफल गर्न सुझाव दिनुभयो। उहाँले पार्टी एकताको विकल्प नरहेकाले वैद्य पक्षलाई एकताका लागि छलफल गर्न आफू तयार रहेको बताउनुभयो।
प्रचण्डले श्रमिकहरूको अधिकार संविधानमा स्थापित गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मजदुरको एकताले मात्र नयाँ संविधान हुँदै नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्न सजिलो हुने भएकाले मजदुरको एकतामा जोड दिनुभयो।
कार्यक्रममा मजदुर नेता शालिकराम जमकट्टेलले नीति निर्माण तहमा मजदुरलाई १० प्रतिशत आरक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले प्रचण्डको हजारौँ पुत्ला जलाए पनि उहाँको नेतृत्वको विकल्प नरहेको उल्लेख गर्दै मजदुर एकतामा जोड दिनुभयो।
श्रममन्त्री एमएस थापाले श्रमिकहरूको अधिकार अझै पनि स्थापित हुन नसकेको बताउनुभयो।
उहाँले मजदुरहरूका लागि अझै प्रतिकूल अवस्था रहेको उल्लेख गर्दै श्रम ऐनमा पनि मजदुरपक्षीय नभएको बताउनुभयो।
कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यले मजदुर एकतामा जोड दिनुभयो।
कार्यक्रममा सामना सांस्कृतिक परिवार, सेनच्याङ सांस्कृतिक परिवार तथा चन्द्रागिरि सांस्कृतिक परिवार तथा रेडियो नेपालका कलाकारहरूले प्रगतिशील गीत तथा नृत्य प्रस्तुत गरेका थिए।